२९ जेठ २०८३, शुक्रबार

पेट्रोलियम पदार्थ लोड–अनलोड गर्न अत्याधुनिक प्रविधि

पेट्रोलियम पदार्थ लोड–अनलोड गर्न अत्याधुनिक प्रविधि

नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा अत्याधुनिक प्रविधि जडान गरेर  तेल लोड अनलोड सेड गर्ने कार्य शुभारम्भ भएको छ ।

शनिबार आयोजित कार्यक्रम गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले उद्घाटन गरेका हुन् । 

उनले यसले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधिको जडान गरेको बताए । यसैगरी उनले यो प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरी भएका बस्ती समेत सुरक्षित हुने बताए । कार्यक्रममा बोल्दै सचिव अर्यालले यो क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रको ठुलो सहयोग आवश्यक रहेको बताए । 

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आधुनिक प्रविधि मार्फत पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए । उनले लुम्बिनी प्रदेशसँगै अन्य कार्य क्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोबारलाई अगाडि बढाउने बताए । 

 निगमको नायब कार्यकारी निर्देशक सुशिल भट्टराईका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड ÷अनलोड गर्ने काम शुरू गरेको छ  ।  एपीआई मापदण्ड अनुसार पाइपलाइन जडान, भल्भहरु, पम्पहरु जडान साथै टैंक/ट्रक लोड गर्न अत्याधुनिक लोडिङ्ग आम्स जडान गरिएको छ । 

निगमका अनुसार  २ करोड ५० लाख लागतमा नयाँ प्रविधि जडान गरेर लोड अनलोड गर्न थालिएको छ । यसमा तीनवटा पम्पहरु जडान भएका छन ।

यो प्रविधि जोड गर्दा ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने  छ । यसअघि सो कार्यालयबाट ८ घण्टामा ३÷४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकोमा नयाँ प्रविधि जडानसँगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ । पुरानो प्रविधि मार्फत कामगर्दा दैनिक काम सम्पन्न गर्न रातिको ९÷१० बजेसम्म कर्मचारी काममा खटिनु पर्नेमा अहिले त्यो समस्या समाधान भएको आचार्यको भनाइ छ । 

 यस डिपोमार्फत लुम्बिनी प्रदेशका आठ...जिल्लामा गरी दैनिक दश लाख देखि ११ लाख लिटर डिजेल र तिन लाख लिटर पेट्रोल, मट्टितेल र हवाई इन्धन बिक्री गर्दै आएको छ ।

नयाँ प्रविधि जडानसँगै बिभिन्न जिल्लाबाट पेट्रोलियम पदार्थ लिन आउँने तथा भारतका बिभिन्न स्थानबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्याङ्करहरु लोड अनलोड गर्न घण्टौंसम्म कुर्नुपर्ने मात्र होइन, कतिपय भारतबाट तेल लिएर आएका ट्याङ्करलाई सोझै डिलरतर्फ पठाउनु पर्ने वाध्यताको अन्त्य भएको प्रादेशिक कार्यालयले जनाएको छ ।

नयाँ पुर्वाधार सञ्चालनमा आएसँगै माग अनुसार पेट्रोलियम पदार्थ लोड÷अनलोड गरी समयमै पेट्रोलियम पदार्थ आपूर्ति गर्न सक्ने सहज भएको कार्यालयले जनाएको छ ।  

यसैगरी सो स्थानमा निगमले टैंक ट्रक पार्किङ्ग यार्डको विस्तार गरेको छ ।

यस अघि निगमसँग पर्याप्त पार्किङको सुविधा नहुँदा विभिन्न समस्या भोग्नु परेको थियो । पार्किङ निर्माण हुँदा  कार्यालय भित्र नै एक पटक करिब १०० वटा टैंक÷ट्रकहरु पार्किङ गर्न सकिने निगमले जनाएको छ ।

यसैगरी निगमले दुर्घटनाबाट बच्न ईलेक्ट्रिकल सिस्टमलाई थप प्रभावकारी बनाउने, ईलेक्ट्रिकल सप्लाई निरन्तर बनाउने उद्धेश्य अनुरुप ईलेक्ट्रिक प्यानल बोर्डहरु, एटियस प्यानलहरुको जडान सहितको ईलेक्ट्रिकल प्यानल हाउस निर्माण गरिएको छ । यस ईलेक्ट्रिकल प्यानल हाउसलाई डिपो अटोमेशन पछि कट्रोलिङ्ग कक्ष पनि बनाइने निगमले जानकारी दिएको छ । 

नेपाल पेट्रोलिय डिर्लस राष्ट्रिय एसोशिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले पेट्रोलियम पदार्थ भण्डारणको डिपोलाई आधुनिकरण गरेसँगै व्यवसायीलाई सहज बताएको बताए । साथै उनले प्रविधिको विकाससँगै व्यवसायीले कारोबार गरे बार्फत  निगमले दिदै आएको कमिसन पनि बढाउदै लैजानु पर्नेमा जोड दिए । 

मट्टितेल टैंक भण्डारण निर्माण 
निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा मट्टितेल टैंक भण्डारण निर्माण गरेको छ । भलवारी स्थित कार्यालयको डिपोकोमा मट्टितेल टैंक भण्डारण निर्माण गर्दै आएको टैंकलाई पेट्रोलमा रुपान्तरण गर्न नयाँ मट्टितेल टैंक भण्डारण निर्माण गरेको हो । निगमले १ करोड लगानीमा सो टैंक भण्डारण निर्माण गरेको छ । 

हाल यस डिपोमा पेट्रोलको खपत करिब २ सय देखि ३ सय किलो लिटर रहेको  थियो । पेट्रोलका भण्डारण क्षमता जम्मा १४० किलोलिटर रहेको कारण माग आपूर्ति धान्न सक्ने निगमले मट्टितेलको टैंकलाई पेट्रोलमा रुपान्तरण लागेको निगमले जानकारी दिएको छ ।  यसले पेट्रोलको भण्डारण क्षमतामा करिब ३ गुणाले बृद्धि भई करिब ३ दिनको आपुर्ति  धान्न सक्नेछ । निगमका अनुसार मट्टितेलको लागि छुट्टै    १४० किलोलिटर क्षमताका दुईवटा टैंक निर्माण गरेको छ ।  

निगमका अनुसार २०३९ सालमा यस नेपाल आयल निगमले भलवारी डिपोको स्थापना भई यस क्षेत्रमा पेट्रोलियम पदार्थहरुको बिक्रिबितरण कार्य शुरू भएका थियोे । करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको डिपो परिसरमा डिजेल ३ हजार ४० किलोलिटर पेट्रोल १४० किलोलिटर र मट्टितेल ३८९ किलोलिटर को भण्डारण क्षमताका हरुको निर्माण भएको थियो । अहिले सम्ममा पेट्रोलियम पदार्थको बिक्रि परिमाण माग बृद्धि भएपनि सोहि क्षमता नै  प्रयोगमा आएको छ ।

यस डिपोबाट हाल लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, अर्घाखाची, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गण्डकी प्रदेशको स्याङ्जाको पश्चिम भेग र बाग्लुङ जिल्लाका केहि भाग गरी जम्मा  ८ वटा जिल्लामा अवस्थित पेट्रोल पम्पहरुलाई पेट्रोलियम पदार्थको आपुर्ति गर्दै आएको छ । भारतको बेतालपुर, गोण्डा, मुगलसराय र नेपालको अमलेगंज डिपोबाट डिजेल,  पेट्रोल र मद्मितेल आयात एवम प्राप्ति गरी बिक्रीवितरण गर्ने गरीएको छ ।

यसैगरी प्रत्येक उपभोक्ताको घरघरमा पुग्ने खाना पकाउने ग्यास (एल.पि.जि.)ईन्डियन आयलका हल्दिया, पारादिप, बरौनी र मथुरा रिफाईनरीबाट आयात गरी यस क्षेत्रमा अवस्थित एल.पि.जि.बोटलिङ्ग प्लान्टलाई बिक्रि बितरण गर्ने गरिएको निगमले जानकारी दिएको छ ।

 बढ्दो जनसंख्या, उपभोक्ताको जीवनस्तरमा आएको सुधार, सडकमार्गको विस्तार, सवारी साधनको संख्यामा आएको बृद्धि तथा यस क्षेत्रमा निरन्तर बृद्धि हुदै गएरहेको छ । आर्थिक क्रियाकलापका कारणले गर्दा पेट्रोलियम पदार्थको मागमा बार्षिक करिब १२ प्रतिशतका दरले बृद्धि हुदै गइरहेको छ । हाल औसत रुपमा दिनको करिब १२ लाख देखि १३ लाख लिटर सम्म पेट्रोलियम पदार्थको बिक्रि हुने गरेको छ ।

यसैगरी निगमले डिपो परिसर तथा यस क्षेत्रका पेट्रोलपम्प, स्थानिय क्षेत्रमा हुनसक्ने आगलागीको नियन्त्रण गरी धनजनको क्षति जोगाउन पानी र केमिकल फोम मिश्रित ६ हजार लिटर क्षमताको अत्याधुनिक दमकल खरिद गरि सञ्चालनमा ल्याएको छ ।  भलवारी डिपोको स्तरउन्नती गर्न अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने र  पार्किङ्ग यार्डको  लागि ३ करोड ५ लाख लगानीमा थप विस्तार गरेको कार्यालयका प्रबन्धक शैलेश भुसालले  जानकारी दिए ।

कमेन्ट गर्नुहोस्