३१ जेठ २०८३, आइतबार

घुम्‍न र आहारा खोज्‍न राजमार्गमा निस्कन्छन् वन्यजन्तु

पुस १९, २०७७
घुम्‍न र आहारा खोज्‍न राजमार्गमा निस्कन्छन् वन्यजन्तु
तस्वीर सौजन्य : कान्तिपुर दैनिक

पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगन्ज–पथलैया सडक खण्डमा शनिबार बिहान कारको ठक्करबाट एउटा वयस्क पोथी बाघ मरेको छ ।

सर्लाहीका अजयकुमार मिश्रको बा१६च ८११ नम्बरको कारले सडकमा ठक्कर दिएपछि ७–८ वर्षको उक्त बाघ घटनास्थलमै मरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहका अनुसार पोस्टमार्टम रिपोर्टअनुसार बाघको टाउकोमा गम्भीर चोट लागेको छ भने करङका हड्डी भाँच्चिएको पाइएको छ । ‘तीन वर्षमा विभिन्न कारणले पर्सा निकुञ्जले तीनवटा बाघ गुमाएको छ,’ साहले कान्तिपुरसँग भने, ‘यो ठूलो क्षति हो ।’ शनिबार मरेको बाघ दुई वर्षअघि पर्सा निकुञ्जभित्र गणनाका क्रममा स्वचालित क्यामेरामा कैद भएकोमध्येको भने होइन । उनले भने, ‘चितवनतिरबाट आएको हो कि भनेर तस्बिर केलाउँदै छौं ।’

बर्दिया राष्ट्रिय निकुञ्जभित्र पूर्व–पश्चिम राजमार्गको अम्बासा–चिसापानी सडक खण्डमा पनि सवारीसाधनको ठक्करबाट बाघलगायतका वन्यजन्तु मरेका छन् । निकुञ्जका सूचना अधिकारी असीम थापाका अनुसार २०७३ पुस ६ मा बसको ठक्करबाट एउटा बाघ मरेको थियो भने २०७५ पुस २७ मा हाइलक्स जिपले बाघलाई ठक्कर दिएर घाइते बनाएको थियो । उक्त बाघ २०७७ वैशाख १४ मा उपचारका क्रममा मरेको थियो । गत आव २०७६/७७ मा सडक दुर्घटनाकै कारण बर्दिया निकुञ्जअन्तर्गत पर्ने राजमार्गमा ३५ वटा वन्यजन्तु मरेका थिए । शुक्रबार अम्बासा–चिसापानी खण्डमा मोटरसाइकलबाटै तानेर बाघले एक महिलालाई मारेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७५/७६ मा निकुञ्ज र आरक्ष क्षेत्रमा ४ सय ९५ वटा वन्यजन्तुको मारिएको देखिन्छ । जसमध्ये १ सय १९ वटा (२४ प्रतिशत) वन्यजन्तु गाडीको ठक्करबाट मारिएका हुन् ।


विभागको वार्षिक प्रतिवेदनअनुसार २०७४/७५ मा ३ सय ९१ वन्यजन्तु मरेकामा १ सय २४ वटा (३१ प्रतिशत) सडक दुर्घटनाका कारण मरेका थिए । २०७३/७४ मा ३ सय २६ वन्यजन्तु मरेकामा १ सय ३३ वटा (४१ प्रतिशत) को कारण गाडीको ठक्कर नै थियो ।

पूर्व–पश्चिम राजमार्गको २ सय ७१ किलोमिटर सडक पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्छ । त्यस्तै, हुलाकी राजमार्गअन्तर्गत बाँकेको काम्दी, बर्दियाको खाता, कैलालीको वसन्ता र लालझाडी–मोहना करिडोर निकुञ्जभित्रै पर्छन् । यी सबै सडक खण्डमा गाडीको ठक्करबाट संरक्षित र अन्य वन्यजन्तु मर्ने गरेका छन् । कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्