पार्वती र रेणुचितवन, २ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री समेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार बनेपछि भरतपुरको चुनावी परिणामप्रति सबैको चासो छ ।
नेपाली कांग्रेससँग तालमेल गरेर मेयरमा माओवादी केन्द्रको तर्फबाट रेणु र उपमेयरमा कांग्रेसको तर्फबाट पार्वती शाह ठकुरी उम्मेदवार छन् । मंगलवार दिउसोसम्म भरतपुरमा जारी मतगणनामा मेयरकी उम्मेदवार रेणुले ११३५ मत प्राप्त गरेकी छिन् भने उपमेयरमा कांग्रेसकी पार्वतीले १४०१ मत प्राप्त गरेकी छिन् ।
कांग्रेस र माओवादी केन्द्रको तालमेल भएपनि तल्लो तहको वडामा त्यस्तो स्थिति देखिएको छैन । कांग्रेसका कट्टर कार्यकर्ताले उपमेयरमा भोट हालेपनि मेयरमा भोट क्रस गरिएको चर्चा चितवनमा छ । मेयरमा उठेकी रेणु दाहालभन्दा कांग्रेस उपमेयरमा उठेकी पार्वतीको बढी देखिएको छ ।
त्यस्तै एमालेको तर्फबाट मेयरमा उठेका देवी प्रसाद ज्ञवालीले १५१३ मत प्राप्त गरेका छन् । हालसम्मको चुनावी परिणामबाट भरतपुरमा कांग्रेस र माओवादी केन्द्रको तालमेल भन्दा एमाले एक्लैले बढी मत ल्याएको देखिन्छ ।
निर्वाचन अघि कांग्रेस–माओवादी गठबन्धनले आयोजना गरेको चुनावी सभामा प्रचण्डले गठबन्धनलाई साथ दिन नेपाली कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गरेका थिए । तर, प्रारम्भिक मत परिणमले भने त्यस्तो नदेखाएको स्वयं माओवादी–कांग्रेसका नेताहरुले बताएका छन् । तर, अहिले मत गणना भइरहेको क्षेत्र एमालेको जनाधार बलिएको भएको क्षेत्रको रुपमा लिइएको छ ।
माओवादी–कांग्रेसले पूर्वी चितवन तर्फलागेपछि रेणुको पक्षमा बढी भोट आउने विश्वास माओवादी कांग्रेसमा स्थानीय नेताले अनुमान गरेका छन् । उक्त क्षेत्र जहाँबाट नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाले भारी मत ल्याएका थिए ।