१७ असार २०८३, बुधबार

स्थानीय तह निर्वाचनको पहिलो चरणमाथि अमेरिकाको वक्तव्य

कात्तिक २०, २०७४
स्थानीय तह निर्वाचनको पहिलो चरणमाथि अमेरिकाको वक्तव्य

काठमाडौं, २ जेठ — नेपालमा भइरहेको स्थानीय तहको निर्वाचनको पहिलो चरण सम्पन्न भएकोमा अमेरिकी राजदूतावासले खुशी व्यक्त गर्दै मंगलवार एक वक्तव्य निकालेको छ । वक्तव्यमा अमेरिकी दूतावासले दोस्रो चरणको निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायलाई पर्यवेक्षणको अनुमति दिन समेत आग्रह गरेको छ ।  
वक्तव्य जस्ताको त्यस्तै :

स्थानीय तह निर्वाचनको पहिलो चरणलाई शान्तिपूर्ण रूपमा र व्यापक समर्थनका साथ सम्पन्न गर्न नेपाल सरकार, निर्वाचन आयोग, नागरिक समाज, राजनीतिक दल र प्रदेश नं. ३, ४ र ६ का नागरिक लगायत सबै सरोकारवालाहरूले गरेको प्रयत्‍नको संयुक्त राज्य अमेरिका सराहना गर्न चाहन्छ ।

जेठमा सम्पन्न हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नका लागि हामी सरोकारवालाहरूलाई आग्रह गर्न चाहन्छौँ, जसले गर्दा प्रदेश नं. १, २, ५ र ७ का नागरिकहरूलाई पनि स्थानीय प्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने यस्तै अवसर प्राप्‍त हुन सकोस् ।

स्थानीय निर्वाचनको दोस्रो चरणमा निर्बाध रूपमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणलाई अनुमति दिनका लागि नेपाल सरकारलाई अमेरिका आग्रह गर्न चाहन्छ । यसो भएको अवस्थामा मान्यताप्राप्‍त कूटनीतिज्ञहरू लगायत अन्तर्राष्ट्रिय समुदायलाई निर्वाचनको पर्यवेक्षण गर्ने र परिणामलाई समर्थन गर्ने मौका मिल्छ ।

आगामी निर्वाचनका लागि ३० दिनभन्दा कम समय बाँकी रहेको यस अवस्थामा हामी राजनीतिक सहमति कायम गर्ने प्रयत्‍नहरूलाई जारी राख्‍न आग्रह गर्दछौँ, जसमार्फत समावेशी प्रक्रियाका लागि स्थानीय निर्वाचनको दोस्रो चरणमा सकेसम्म धेरै मतदाताहरू सहभागी बन्न सकून् । यसो भएको खण्डमा निर्वाचन प्रक्रियाको विश्‍वनीयता बढ्नेछ र मुलुकभर लोकतान्त्रिक रूपान्तरण बलियो बन्नेछ ।

हामी सबै दलहरूलाई अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता तथा नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिमको मतदाताको अधिकारलाई सम्मान गर्न आग्रह गर्दछौँ । साथै, हामी सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न अनुरोध गर्न चाहन्छौँ ।

शान्तिपूर्ण, समावेशी, व्यापक समर्थन-प्राप्‍त तथा विश्‍वसनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्नका लागि संयुक्त राज्य अमेरिका प्रतिबद्ध छ । 

salt training

कमेन्ट गर्नुहोस्