२१ जेठ २०८३, बिहीबार

बेइजिङमा हजारौंले लिए खोप, बेलायतमा अस्ट्राजेनिकाको खोप लगाउन शुरु

बेइजिङमा हजारौंले लिए खोप, बेलायतमा अस्ट्राजेनिकाको खोप लगाउन शुरु

चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् ।

दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लिनेहरुमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरु पनि रहेका छन् । स्वास्थ्य अधिकारीहरुले चिनियाँ फर्मास्यूटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई सःशर्त स्वीकृति प्रदान गरिसकेको छ ।

यस खोपको प्रभावकारिता झण्डै ७९ प्रतिशत रहेको सिनोफार्मले जनाएको छ । बेइजिङमा ठूलो संख्यामा मानिसहरु स्थानीय अस्पतालहरु र सामुदायिक स्वास्थ्य केन्द्रहरुमा खोपका लागि भेला भएको दृश्य सरकारी टेलिभिजन सिसिटिभीले प्रशारण गरेको छ । स्वास्थ्य अधिकारीहरुले जिम र कारखानाका खाली भवनहरुलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन् ।

चीनले गत वर्ष सन् २०२० मा आपतकालीन प्रयोग अन्तर्गत करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्तिहरु रहेका छन् । अहिले चीनले भाइरसबाट सर्वाधिक जोखिममा रहेका समूहलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी शुरु गरेको छ ।

यसैबीच, बेलायतले पनि सोमबारदेखि अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्यूटिकल्स कम्पनीले तयार पारेको खोप दिने तयारी गरेको छ । अस्ट्राजेनिकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो । निकै सस्तो र वितरणमा निकै सहज मानिएको यो खोप एक जना ८२ वर्षीय बेलायती नागरिक ब्रायन पिकरलाई चर्चिल अस्पतालमा प्रदान गरेर खोप अभियान शुरु गरिएको छ ।

विश्वभर कोरोनाभाइरसको संक्रमणबाट १८ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने झण्डै ८ करोड ५० लाख मानिस संक्रमित भएका छन् । संक्रमण दर लगातार वृद्धि हुनुका साथै मानिसको मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ । बेलायतले पहिलो चरणमा अस्ट्राजेनिकाको खोप ५ लाख ३० हजार डोज उपलब्ध गराउँदैछ ।

प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमण बढ्दै गएकाले आगामी दिनहरु निकै कठिन रहेको बताउँदै खोप अभियान व्यापक बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्