
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले नेकपासँगै सम्बन्धित सबै कागजातको प्रतिलिपि माग गरेको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरू आइतवार निर्वाचन आयोगमा पुगेर पार्टीसँग सम्बन्धित कागजातको प्रतिलिपि माग गरेका हुन् ।
प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा सम्बन्धी विषय सर्वोच्चमा विचाराधीन भएको अवस्थामा चुनावको तयारी अगाडि नबढाउन आग्रह गरेको छ । ‘सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा चुनावी तयारी नगर्न र निर्वाचन आयोगमा रहेका हाम्रो पार्टीसँग सम्बन्धित सबै कागजको प्रतिलिपि माग्नु थियो, त्यसैका लागि हामी आयोग आएका हौं,’ स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले आयोग परिसरमा पत्रकारसँग भने ।
भविष्यमा पार्टी आधिकारिकताको विवाद आउन सक्ने भन्दै प्रचण्ड–नेपाल समूहले दर्तादेखिका कागजातको प्रतिलिपि माग गरेको नेकपाका एक नेताले जानकारी दिए ।
निर्वाचन तयारी रोक्न गरिएको आग्रह भने आयोगले अस्वीकार गरेको छ । चुनाव तयारीका लागि गर्नुपर्ने प्रारम्भिक काम मात्र भइरहेको आयोगले प्रचण्ड–नेपाललाई जानकारी गराएको थियो ।
निर्वाचन घोषणा भइसकेपछि तयारी थाल्नु आयोगको कर्तव्य भन्दै चुनावका लागि भएको तयारी भने रोक्न नमिल्ने आयोगले बताएको थियो । आयोगले मतदाता अद्यावधिक र मतदान केन्द्र तोक्ने काम शुरू भएको जनाएको छ ।