०९ साउन २०८३, शनिबार

मन्त्री ढकालको प्रश्न : जनमत लिन खोज्दा कसरी प्रतिगमन भयो ?

पुस २८, २०७७
मन्त्री ढकालको प्रश्न : जनमत लिन खोज्दा कसरी प्रतिगमन भयो ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल निजामति कर्मचारी संगठनका प्रतिनिधिसँगको छलफलमा उनले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताए ।

मन्त्री ढकालले भने, ‘निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनावै हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईंहरूले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छ ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकेकी थिइन् । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भए बमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचनको मिति तोकिएको छ । 

मन्त्री ढकालले राजनीतिभित्रको एउटा कित्तालाई जनभावनाको परीक्षण नगरी सत्ता बाडीचुडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको बताए । ‘चुनावी प्रक्रियामा किन डराउने, पार्टीभित्र झगडा गर्ने बानी परेका ज्येष्ठ नेतालाई तनाव भएको छ, त्यसैले चुनावको सामना गर्न डराएका छन्,’ उनले भने । 

उनले अघिल्लो निर्वाचनमा राजनीतिक स्थिरताका लागि मत मागेर फरक धारमा अघि बढेको शक्तिलाई समाहित गरेर लैजाने अठोटकासाथ लागिएको भए पनि स्थायित्व र स्थिरताको राजनीति नआएपछि अब स्थिरताको पक्षमा बहुमत प्राप्तिका लागि निर्वाचनमा जान लागिएको दाबी गरे । प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रका नेताले काम गर्न नदिएपछि प्रतिनिधिसभा भंग गरेर बाध्यात्मक ढंगले निर्वाचनको विकल्पमा जानुपरेको उनको तर्क थियो । 

प्रधानमन्त्रीको निर्वाचनमा जाने कदमलाई तानाशायी र प्रतिगमनको संख्या दिएर प्रचार गर्नेतर्फ इंगित गर्दै उनले भने, ‘जनतामा नजाने कुरो गरेर जसरी पनि नेतृत्वमा रहिरहन खोजियो भने पो तानाशाही हुन्छ तर सार्वभौमसत्ता सम्पन्न जनताको जनमत लिन जान खोज्दा कसरी प्रतिगमन भयो ?’

नेकपाका अर्का कार्यकारी अध्यक्षको ध्यान नै जसरी पनि नेतृत्वमा जाने देखिएकाले पार्टी एकतालाई समेत बचाउन कठिनाई भएको उनको भनाइ छ । उनले सरकारको खुट्टा तानेर पाइला सार्न नदिने अनि दुईतिहाइको सरकारले कामै गर्न सकेन भनेर गलत प्रचार गरी हिँड्ने नेताहरूको प्रवृत्तिले पनि अहिलेको अवस्था आएको दोहोर्‍याए ।

salt training

कमेन्ट गर्नुहोस्