
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले वैशाखमा हुने मध्यावधि निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।
वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरूलाई मंगलवार गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री थापाले निर्देशन दिए ।
‘स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोतसाधनको कमी भए मन्त्रालयलाई जानकारी गराउनुहोला, कुनै कमी हुन दिइने छैन,’ उनले भने ।
शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले गृह मन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरूप कामकारबाही अघि बढाउन निर्देशन दिए । ‘फिल्डमा उच्च मनोबलका साथ काम गर्नुहोस्, तपाईंहरूलाई कुनै चुनौती आए गृह मन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ ।’
बढुवा भएका अधिकृतको जिम्मेवारी थप बढेको भन्दै गृहमन्त्री थापाले भने, ‘अहिलेसम्मको अनुभवलाई अधिकतम सदुपयोग गर्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुहोस् ।’
कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल सहभागी थिए ।