
विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका पूर्व माओवादी नेताहरूलाई जनयुद्ध कुहिएकै फर्सी हो भनेर प्रश्न गरेका छन् ।
नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘केपीतिर लागेका हाम्रा साथीहरूलाई सबैले सोध्नुहोला – के जनयुद्ध कुहिएकै फर्सी हो त ?’
तत्कालीन जनयुद्धमा सहभागी गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लगायत नेताहरू ओलीतिर लागेका छन् । ओलीले हालै एक कार्यक्रममा जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गरेका थिए ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको सहमति हुँदा समेत ओलीले जनयुद्धका उपलब्धी स्वीकार्ने विषयमा सहमति गरेको स्मरण गर्दै प्रचण्डले सोधे, ‘के त्यो केपी ओलीले हस्ताक्षर कीर्ते हो ? यदि त्यसो होइन भने यो बेइमानी हो । कोही पनि क्रान्तिकारीलाई यो स्वीकार्य हुँदैन ।’