
अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरीब’ ।
गरीबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ ।
अहिले होटल, रेस्टुँरा तथा घरबासमा पुगेका पर्यटकले कोदोको परिकार खुब मिठो मानेर खान थालेका छन् भने घरबास सञ्चालक कुनै दिन गरिबको खानाको रूपमा चिनिएको कोदोका परिकार बनाएर मनग्य आम्दानी लिन थालेका छन् ।
सामान्यतयाः कोदोको ढिडो, रोटी खाना र खाजाको रूपमा प्रयोग गरिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुंगा सामुदायिक घरबासमा भने कोदोको सेलरोटी प्रमुख आकर्षणका रूपमा छ । बर्खामा आलु र हिउँदमा कोदोको ढिडो र सेलरोटी घरबासको विशेष आकर्षणको रुपमा राखिएको छ ।
घरबास पुग्ने पाहुनाले चामलको सेल रोटी खाएको भए पनि कोदोको सेल नखाएको भन्दै खुब रुचाउँदै खाने गरेको घरबास सञ्चालक बताउँछन् । कोदोको सेलरोटीले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । आगन्तुक पाहुनाले कोदोको ढिडो, कोेदोको सेलरोटी, फापरको परिकार, उसिनेका आलु, सिल्टुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु रोटी लगायतका परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको घरबास सञ्चालक माया घर्तीले बताए ।
उच्च पहाडी गाउँको चिसो स्थानमा पाइने कोदो र आलु स्वादिलो हुने भएकाले पाहुनाले कोदो र आलुका विभिन्न परिकारका स्वाद निकै मिठो मानेर खाने गरेको बेलढुंगा सामुदायिक घरबासका सचिव गोपाल श्रीसले जानकारी दिए ।
‘आगन्तुक पर्यटक र पाहुनालाई उनीहरूको इच्छाअनुसार खुवाउने चलन भए पनि हाम्रोमा कोदोको सेल र उसिनेको आलु अनिवार्य छ,’ श्रीसले भने, ‘आलु र कोदोको परिकारलाई नै मुख्य आकर्षण बनाएका छौं, जसमध्ये कोदोको सेलरोटी र उसिनेको आलु प्रमुख परिकारका रूपमा लिइएको छ ।’
सामान्यतया सेलरोटी चामलको पिठोबाट बनाउने भए पनि ओखलेका महिलाले कोदोको पिठोबाट सेलरोटी बनाउने गरेका छन् । जुन अलि पृथक र फरक स्वादको रूपमा घरबासमा आएका पाहुनाले खाने गरेका छन् । कोदोको सेल निकै फरक र स्वादिष्ट रहेको घरबास पुगेकी बागलुङ बजारका मनकुमारी केसीले बताइन् । कोदोको सेल र आलुको परिकारले बागलुङका अन्य घरबासको तुलनामा बेलढुंगा घरबासको छुट्टै पहिचान दिन सफल भएको आन्तरिक पर्यटक दीपक गौतमले बताए ।
घरबासमा दोस्रोपटक आउने पाहुनाले सिधै आलु र कोदोको सेल रोज्ने गरेको घरबासका सञ्चालिका माया श्रीसले बताइन् । घरबासमा आयातित खाद्य सामग्रीलाई निषेध गरी स्थानीयस्तरमा उत्पादित खानाका परिकारलाई विशेषरूपमा प्रवद्र्धन गर्ने स्थानीयको योजना छ । गाउँकै मुख्य बालीको रूपमा उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यावसायीकरण र अन्य उत्पादनलाई समेत प्रवद्र्धन गर्न अब गाउँलाई अग्र्यानिक भिलेजका रूपमा स्थापित गर्ने योजनासमेत बनाइएको घरबासका सञ्चालक श्रीसको भनाइ छ ।