
बेल्जियमको राजधानी ब्रसेल्समा त्यहाँका राजा चढेको कारमा दंगाबाजहरूले बुधवार आक्रमण गरेका छन् ।
काला जातिका एक पुरुषको प्रहरी हिरासतमा मृत्यु भएपछि दंगा भड्किएको हो । ती पुरुषलाई कोरोनाभाइरस नियम तोडेकोमा पक्राउ गरिएको थियो ।
राजा फिलिप्पे आफ्नो सरकारी निवास प्यालेस अफ लाएकेन जाँदै गर्दा उनको बीएमडब्ल्यू कारमा प्रोजेक्टाइल प्रहार गरिएको थियो । त्यसपछि राजाका सुरक्षाकर्मीहरूले सुरक्षा दिएर गाडीलाई बेस्सरी कुदाएका थिए ।
पाँच सयभन्दा बढी विरोधकर्ताहरू २३ वर्षीय युवक इब्राहिम ब्यारीको मृत्युपछि ब्ल्याक लाइभ्स म्याटरको ब्यानर बोकेर प्रदर्शन गरिरहेका थिए ।
ब्यारीलाई प्रहरीले शनिवार पक्राउ गरेको थियो । घरबाहिर चारजनाभन्दा बढी भेला हुन नपाउने नियम उनले तोडेको भनी प्रहरीले समातेको थियो ।
शहरमा राति १० बजेपछि निस्कन पनि मनाही गरिएको छ ।
गत नोभेम्बर महिनादेखि कोरोनाभाइरसको दर ह्वात्तै बढेकाले नियन्त्रण गर्नका लागि कडा नियम ल्याइएको हो ।
उक्त व्यक्तिलाई प्रहरी चौकीमा ल्याउनेबित्तिकै ऊ बेहोश भएको र तत्कालै अस्पताल लगिएको प्रहरीको भनाइ छ । अस्पतालमा उसलाई मृत घोषणा गरिएको थियो ।
न्यायमन्त्री भिन्सेन्ट भ्यान क्विकेनबोर्नले १०० भन्दा बढी मानिसलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।