
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक दिल्लीमा सम्पन्न भएको छ ।
बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले गरेका थिए ।
सीमा, कनेक्टिभिटी, ऊर्जा, व्यापार लगायत दर्जन बढी एजेण्डामा छलफल भएपनि कालापानी क्षेत्रको विषयमा भने कुनै सहमति भएको छैन ।
नेपाली भूमि भारतले मिचेर नयाँ नक्सा जारी गरेपछि विवाद फेरि सहतमा आएको थियो ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा प्रकाशित गरिसकेको छ ।
यो विषयलाई नेपालले संयुक्त आयोगको बैठकमार्फत् समाधान गर्न भारतसँग आग्रह गर्दै आइरहेको छ ।
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले दुई देशका बीचमा बाँकी रहेका समस्या समाधान गर्ने र सहयोगको बाटो खोलेको बताए ।
‘नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । भ्रमणको शिलशिलालाई अझ अगाडि बढाउने र दुईदेशका बीचमा बाँकी रहेका समस्या समाधान गर्ने सहयोगको बाटो खोलेको छ’ आचार्यले भने ।
राजदूत आचार्यले परराष्ट्रमन्त्रीको भ्रमणपछि नेपालले कोभिड १९ विरुद्धको खोप पाउने सुनिश्चित भएको बताए ।
‘हामीले भरपर्दो आश्वासन पाएका छांै, कोभिड १९ को खोप हामीलाई उपलब्ध हुनेछ । छिट्टै र उपयुक्त मात्रामा प्राप्त हुनेछ । पहिलो चरणमा प्राप्त भएपछि दोस्रो चरणका लागि सहजता हुनेछ,’ आचार्यले भने ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकअघि शुक्रवार बिहान मन्त्री ज्ञवाली र जयशंकरबीच हैदरवाद हाउसमा भेटवार्ता भएको थियो ।
भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्य तथा भारतीय विदेश मन्त्रालयका सचिव हर्षबद्र्धन श्रृङ्गला पनि सहभागी थिए ।
नेपालमा प्रतिनिधि सभा विघटनपछि मन्त्री ज्ञवाली सरकारको तर्फबाट भारतमा पहिलो औपचारिक भ्रमण हो ।
तीन दिने भ्रमणका लागि मन्त्री ज्ञवाली बिहीवार नयाँ दिल्ली गएका थिए ।