
जर्मनीको फ्य्रांकफर्ट अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार एक व्यक्तिले मास्क नलगाई प्रहरीसँग निहुँ खोजेर हंगामा मच्चाएको छ ।
फेस मास्क नलगाएकोमा उक्त व्यक्तिलाई प्रहरीले सोधखोज गर्दा ऊ रिसाउँदै अल्लाहु अकबर भन्दै चिच्याएको थियो ।
‘म तिमीहरू सबैलाई मारिदिन्छु, अल्लाहु अकबर’ भन्दै ऊ चिच्यायो अनि आफ्नो लगेज छोडेर घटनास्थलबाट भाग्न खोज्यो ।
त्यसपछि विमानस्थलको टर्मिनल १ खाली गरियो । सशस्त्र सुरक्षाकर्मीहरूले उक्त व्यक्तिलाई घेरेको भिडियो फूटेज सार्वजनिक भएको छ । उसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त व्यक्तिको सुटकेस त्यत्तिकै राखिएपछि डिपार्चर हलको ठूलो भाग सुरक्षित गर्नुपरेको थियो ।
अर्को टर्मिनलमा पनि सशस्त्र व्यक्ति रहेको बताइएको छ ।
एयरपोर्टमा तीन घन्टा जति अवरोध भएपछि राति ८ बजे पुनः खोलिएको छ । नियन्त्रणमा लिइएका व्यक्तिमाथि अनुसन्धान चलिरहेको छ ।