
पूर्वप्रधानमन्त्री एवं नेकपा (प्रचण्ड–नेपाल) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध साकाहारी आन्दोलनले नपुग्ने भन्दै आक्रामक आन्दोलनमा लाग्न युवा तथा विद्यार्थीहरूलाई निर्देशन दिएका छन् ।
साकाहारी आन्दोलनले प्रतिनिधि सभा विघटनको निर्णय नसच्चिने प्रचण्डको दाबी थियो ।
आफूपक्षीय विद्यार्थी संगठन अखिलका कार्यकर्तालाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले उनकै शब्दमा प्रतिगमनकारी कदमविरुद्ध आन्दोलनको जनमत बनेकाले सशक्त आन्दोलन गर्नुपर्ने बताएका हुन् ।
‘प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध तपाईं-हामी परिवर्तन पक्षधर, प्रगतिशीलहरू गर्जिनुपर्ने बेला आयो । साकाहारी आन्दोलनले पुग्ने देखिँदैन । सामान्य औपचारिकताले पुग्दैन । त्यसलाई उनले गन्नेवाला छैनन्,’ प्रचण्डले भने, ‘साकाहारी आन्दोलन त हामीले कति गर्यौं कति, पार्टीको बैठक बोलाऊ भनेर तीनजना पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधामनन्त्रीहरू गएर लौ न बैठक राख्दिनुस् भन्न जाँदा मन्त्रीले सचिवलाई तोक लगाएजस्तो महासचिवलाई बैठकको प्रक्रिया अगाडि बढाउन भन्ने केपीले साकाहारी आन्दोलन सुन्छन् जस्तो लाग्दैन ।’
प्रचण्डले सिंगो राष्ट्र केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध रहेको दाबी गरे । ‘प्रायः सबै पूर्वप्रधानन्यायाधीहरू, प्रायः सबै पूर्वमहान्यायाधीवक्ता, बुद्धिजीवी, पेशाकर्मी सबै प्रतिगमनका विरुद्धमा छन् । आन्दोलनका लागि यो भन्दा ठूलो जनमत अर्को हुन सक्दैन,’ प्रचण्डले भने ।
प्रचण्डले टाउको चिलाएको भन्दै लाठी खाने मन भएको समेत टिप्पणी गरे । ‘प्रतिक्रान्तिकारीहरूको मुटु हल्लिने आन्दोलन चाहियो, नौ गते अलिकति म्यासिभ्ली जाने सोचेका छौ । अग्रपंक्तिमा हामी हुन्छौं र हिजो गिरिजाप्रसाद कोइराला, माधवजी र झलनाथजीले जस्तै लाठी खान मन छ । मलाई किन–किन टाउको चिलाएको छ,’ प्रचण्डले भने ।