
नेकपाका नेता सुमनराज प्याकुरेलले वैधानिक रुपमा नेकपा नफुटेको बताएका छन् । राजविराजस्थित निवासमा आज पत्रकार सम्मेलन गर्दै पार्टी प्रदेश नं २ कमिटी सचिव प्याकुरेलले पार्टी कमिटीमा कारवाहीको माग र संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता नभएका अवस्थामा केही साथीहरु बैठकमा आउन छाडेर सडकमा पुगेको र अहिले पनि पार्टीको दोस्रो अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै रहेको बताए ।
केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा चालेको अग्रगामी कदमले नेकपा देशीविदेशी प्रतिक्रियावादी शक्तिको तारो बनेको बताउँदै राष्ट्रियसभा सदस्य प्याकुरेलले सङ्घीयता र लोकतन्त्रमाथि नै आघात पार्ने गरी पार्टीभित्रैबाट हुन थालेको षड्यन्त्रको समयमै पहिचान गरी प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गरे ।