
महाशक्ति देश अमेरिकाको राष्ट्रपति नियुक्त भएका जो बाइडेनलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ । उनले बुधबार राति नेपाली समयअनुसार पद तथा गोपनियताको शपथ लिएका हुन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले बाइडेनलाई बधाई दिँदै उनीसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । ‘म उनी र उनको नयाँ प्रशासनसँग मिलेर काम गर्नेमा छु । हाम्रो देशहरुबीच सहकार्य बलियो बनाउने तथा जलवायु परिवर्तनविरुद्धको लडाँई, महामारी जितेर अघि बढ्ने र हाम्रो ट्रान्स एटलान्टिक सुरक्षालगायत साझा प्राथमिकतामा सहकार्य गर्नेबारे सोचिरहेको छु,’ जोनसोनले भने ।
ट्वीटरमार्फत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि बाइडेनलाई बधाई दिएका छन् ।
यस्तै जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टिनमिइयरले बाइडेन शीर्ष स्थानमा पुुग्नु ‘प्रजातन्त्रका लागि राम्रो दिन’ रहेको बताएका छन् । युरोपेली कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियेनले अमेरिका फर्किएको बताइन् ।
ईरानका राष्ट्रपति हसन रोउहानीले ट्रम्पको बर्हिगमनलाई क्रुर युुगको अन्त्य भएको प्रतिक्रिया दिएका छन् ।