१६ असार २०८३, मंगलबार

जब प्रचण्डले भने-हामीहरू निर्वाचनको विरोधी हैनौं

माघ ८, २०७७
जब प्रचण्डले भने-हामीहरू निर्वाचनको विरोधी हैनौं

अचेल एउटा वाक्य प्रायःको मुखमा झुन्डिएको छ, ‘हामी यहाँ छौं।’ विभक्त नेकपाको एक खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पुस १० गते माइतीघरको भुइँमा थचक्क बसेका थिए। उनीहरूको छातीमा यही वाक्य लेखिएको कागज झ्याप्प टाँसिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ गते प्रतिनिधिसभा विघटन गरेपछि दाहाल–नेपाल सडकमा झरेका थिए।

ओली र दाहालले नेतृत्व गरेको पार्टी दुई चिरा भएको छ। दाहाल पक्षले नेपाललाई अर्का अध्यक्ष चुनेको छ। त्यसयता दुवै खेमाका समानान्तर भेला–प्रशिक्षण दैनिक चलेका छन्। एकले अर्कालाई तुच्छ लाञ्छना लगाउँदै आएका छन्। सधैं देखिइरहेका, बाक्लो राजनीतिक गतिविधिका समाचार बनिइरहेका नेताद्वय दाहाल–नेपाललाई बुधबार बिहान सम्पादकहरूले भने फरक प्रश्न गरे, ‘तपाईंहरू कहाँनिर हुनुहुन्छ ?’

उनीहरूका थप प्रश्न थिए–
– तपाईंहरूको आन्दोलन पदका खातिर होइन (सैद्धान्तिक हो) भन्ने पत्यार कसरी गर्ने ?
– प्रधानमन्त्री ओलीभन्दा तपाईंहरू उत्तम भन्ने छुट्ट्याउने ठाउँ कहाँ छ ?
– दाहाल–नेपाललाई पार्टी/सरकार सुम्पिन मात्र अरूले आन्दोलन किन गर्ने ?
– तुच्छ गालीगलौजका दोहोरो वर्षा कति गराउनुहुन्छ ?
– यत्रो वर्ष गरेका गल्तीमा तपाईंहरूले चाहिँ खुला माफी किन नमाग्ने ?
–  तपाईंहरूले पदीय झगडालाई बलजफ्ती सैद्धान्तीकरण गरेको सर्वसाधारणले अनुभूत गरेका छन्, कसरी खण्डन गर्नुहुन्छ ?
– तपाईंहरूको हात परेको बेला समावेशिताको अभ्यास देखाएको खोइ ?
– राजा फाल्दा दलहरू सच्चिने प्रतिबद्धता जनतामाझ गर्नुभएको होइन ? सच्चिएको खोइ ?
– भविष्यमा कुनै दिन चुनाव हुँदा के नागरिक समाजको भोटले जितिन्छ भन्ने परिकल्पनामा हुनुहुन्छ ? सम्भव होला त्यो ?
– तपाईंहरू ढाँट पनि हो भन्ने जनतामा परेको छाप कसरी मेटाउनुहुन्छ ?
– संघीयता, धर्मनिरपेक्षताजस्ता वर्तमान संविधानका मूल मर्मको विरोध गर्ने शक्तितिर जनमत झुम्मियो भने के गर्नुहुन्छ ?
– शाकाहारी आन्दोलनले धानेन भन्नुहुन्छ, के भन्न खोज्नुभएको हो ?
 
दाहाल–नेपालले आयोजना गरेको अन्तक्र्रियामा बोल्ने सम्पादकहरूको भनाइको मर्म थियो– ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक हो भन्नेमा हाम्रो तपाईंहरूलाई साथ छ। व्यक्तिगत रूपमा तपाईंहरू फरक गतिला हुनुहुन्छ भन्नेमा अलिकति पनि विश्वास छैन।’

दाहाल सदाझैं ओलीप्रति आक्रामक देखिएनन्। बरु मन्तव्यको अधिकांश समय आत्मालोचना र गल्ती सच्याउने प्रतिबद्धतामा केन्द्रित भए। ‘हामी कहाँ छौं र कहाँनिर बढी ध्यान दिनुपर्छ भन्ने हेक्का भयो आज’, उनले भने, ‘आफूलाई बदल्ने आँट गरेनौं भने परिस्थिति हाम्रो इच्छाभन्दा बाहिर जान सक्छ भन्ने तपाईंहरूले सम्झाइदिनुभयो। तपाईंहरूले सही ठाउँमा प्रश्न उठाउनुभएको छ। केही तीतो–तीतोजस्तो लागे पनि औषधि नै दिनुभएको छ।’

आफूहरू इतिहासको कठघरामा रहेको उल्लेख गर्दै उनले भने, ‘जे भयो, जनताका अगाडि त्यसको नैतिक जिम्मेवारी कसले लिने ? निःसन्देह हामीले लिनुपर्छ। पदको झगडाले पार्टी फुट्यो, संसद् विघटन भयो भन्ने सर्वसाधारणमा जुन अवधारणा बनेको छ, त्यसलाई अब चिर्नु छ।’

निर्वाचन लोकतान्त्रिक विधि भए पनि अहिले बेला ठीक नभएको उनको भनाइ थियो। ‘हामी निर्वाचनविरोधी होइनौं। आवधिक निर्वाचन र लोकतन्त्रप्रति इमानदार छौं भनेर सावित गरिसकेका छौं। तर, अहिलेको प्राथमिकता चुनाव होइन। संविधानलाई जुन डिरेल गर्ने काम भएको छ, सच्याउनु हो’, उनले भने, ‘संविधान भाँचिएर भएको निर्वाचनले आखिर के दिन्छ ?’
नेताहरू पदलोलुप देखिएको अनुभूत सर्वसाधारणले गरेको सम्पादकहरूले बताएका थिए। त्यसका लागि दुई कार्यकालभन्दा बढी राष्ट्रपति, प्रधानमन्त्री, अध्यक्षजस्ता पदमा रहन नमिल्ने संवैधानिक व्यवस्था मिलाउन उनीहरूको सुझाव थियो। त्यसको जवाफमा दाहालले भने, ‘बढीमा दुई कार्यकाल बनाउनेबारे हामी गम्भीर समीक्षा गर्दै छौं। ढुक्क हुनुहोस्, यही टिमले त्यो प्रणाली बसाउनेछ।’

नेता नेपाल भने ओलीप्रति निकै खरो देखिए। भाषा सुधार्न पत्रकारले दिएको सुझावको प्रत्युत्तरमा उनले भने, ‘कुरा त ठीकै हो। तर, यस्तो मान्छे, रद्दी मान्छे, अहंकारी मान्छे भन्नैपर्ने रहेछ। त्यसो भनेन भने घृणा पैदा गर्न सकिन्न।’

उनले प्रधानमन्त्री ओलीलाई एकाधिकारवादी, अपारदर्शीजस्ता विशेषण दिए। ‘उहाँले मलाई कुनै सकिङ स्टेप लिँदै छु भन्नुभयो। के रहेछ त्यो सकिङ स्टेप भनेको पहिला मलाई थुन्ने अनि कमरेड प्रचण्डलाई थुन्ने पो रहेछ।’ त्यसलाई प्रस्ट्याउँदै उनले भने, ‘मलाई फसाउन ललिता निवासको कुरा झिकिएको छ। मैले भनेको छु, पुष्टि गरेर देखाउनुहोस्।’

प्रधानमन्त्री ओलीले मतभेद राख्नेसँग दुस्मनी साँध्ने गरेको नेपालको आरोप थियो। ‘उहाँ त बदलाको भावनामा चल्ने मान्छे हो। चुनौती दिने कोही निस्कियो भने शत्रूको सूचीमा परिहाल्छ’, उनले भने, ‘म त परिगएँ त्यो सूचीमा पर्मानेन्ट (स्थायी)।’ अखण्ड भण्डारीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्