प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिको नक्कली कुरा गर्नेहरूले आफूले एक विदेशी टेलिभिजनलाई दिएको अन्तर्वार्तालाई लिएर राष्ट्रवादको बबण्डर मच्चाएको आरोप लगाएका छन् । राष्ट्रियता र देशभक्ति बिकाउ वस्तु हुन नसक्ने उनको भनाइ थियो ।
नेकपा समर्थित पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले आफूले भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदा राष्ट्रवादको बबण्डर गरेर बहकिनुपर्ने अवस्था नरहेको बताए ।
‘मैले अस्ती एउटा विदेशी टेलिभिजनलाई अन्तर्वार्ता दिएँ, त्यो पत्रकारले आफ्नो देशमा गएर सगरमाथा नाप्नेको नामबाट माउन्ट एभरेस्टको नाम राख्नुपर्छ भनेछ । यता आलोचना गर्न केही भेटाएनछन्, यहाँ राष्ट्रवादको बबण्डर मच्चियो । यति बहकिनुपर्ने थियो ? राष्ट्रवाद भनेको तमासा गर्ने कुरा हो ?’ ओलीले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले अघिल्लो हप्ता भारतीय टेलिभिजन जी न्युजलाई अन्तर्वार्ता दिएका थिए । ‘एउटा नेताले त्यो अन्तर्वार्ता नौटंकी नै हो भनेर भाषण ठोके । नौटंकी नै हो रे ! कसरी नौटंकी हो बताइदिनुस् न त ?’ आफ्नो भाषणलाई नौटंकी भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ओलीले प्रश्न सोधे ।
ओलीको अन्तर्वार्ता प्रसारित भएको भोलिपल्ट काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले ओलीको अन्तर्वार्ता नौटंकी भएको टिप्पणी गरेका थिए ।
‘उहाँहरूले पनि कहिले–कहिले विदेशीलाई अन्तर्वार्ता दिँदा देशको इज्जत राख्नुभएको छ ?’ ओलीले भने, ‘नक्कली कुरा गर्नु देशभक्ति होइन ।’