
काठमाडौं । भक्तपुरसहित विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार भक्तपुर नगरपालिका-१० महालक्ष्मी मन्दिर नजिक फोहोर फाल्ने ठाउँमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी रुपन्देहीको गैडहवा गाउँपालिका-२ ननौलि बस्ने ५५ वर्षीया कलावती धोबी घरबाट करिब ५ सय मिटर पश्चिम खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट तोरी बारीमा जान्छु भनि हिँडेकी उनी फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेकी हुन् ।
यसैगरी कैलालीको घोडाघोडी नगरपालिका-१ बेलार शिविरमा बस्ने ४५ वर्षीय प्रमेश्वर चौधरी झर्नया खोलाको छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ दिउ बस्ने ४५ वर्षीय कुबेर खड्का सोही ठाउँस्थित जनसेवा माध्यामिक विद्यालयको कक्षा कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । छतको ढलान गर्ने काम सकेपछि शौचालय गएकोमा उनी धेरै समयसम्म फर्की नआएकोले साथीहरुले खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।