११ साउन २०८३, सोमबार
पत्रपत्रिका पहिलो पेज

खोप लगाउँदा ‘साइड इफेक्ट’ देखिए सरकारले उपचार गर्ने, अदालतमा राजपत्रको विषय उठेपछि खैलाबैला

खोप लगाउँदा ‘साइड इफेक्ट’ देखिए सरकारले उपचार गर्ने, अदालतमा राजपत्रको विषय उठेपछि खैलाबैला

शुक्रबार राजधानीबाट प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिकले भारतले अनुदानमा दिएको १० लाख कोभिसिल्ड (कोरोनाविरुद्धको खोप) नेपाल आइपुगेको सम्बन्धी खबरलाई प्राथमिकताका साथ छापेका छन् । यसबाहेक प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामाथिको छलफलका साथै अन्य विविध विषयलाई पनि पहिलो पृष्ठमा समेटेका छन् ।

कान्तिपुर दैनिकका अनुसार प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु हुनासाथ अधिवक्ता उभिएर बहस गर्ने ठाउँको दायाँपट्टि बसेर बहस सुनिरहने महान्यायाधिवक्ता अग्नि खरेल बिहीबार चिया ब्रेकपछि एकाएक हराए । चिया ब्रेकपछि जारी सनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधीवक्ताज्यू?’ भनेर सोध्दा उनी त्यहाँ थिएनन् । उनको साटो नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय उभिएर उपस्थिति जनाए । महान्यायाधिवक्ता सुनुवाइ छाडेर हिँड्नुअघि सर्वोच्च अदालतमा बहसका दौरान अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ?’ भनी प्रश्न गरेका थिए ।

प्रतिनिधिसभा विघटन भएको महिना दिनभन्दा बढी समयबित्दासमेत सरकारले राजपत्रमा त्यसको सूचना निकाल्न भुलेको थियो । प्रतिनिधिसभा विघटन भएको सूचना प्रधानमन्त्री कार्यालयले कानुन मन्त्रालय हुँदै मुद्रण विभागमा पठाएर राजपत्रमा सूचना निकाल्नुपर्ने हो तर सो सूचना राजपत्रमा नै नछापिएपछि सरकारी निकायहरूमा खैलाबैला मच्चिएको हो । पत्रिकाले राजपत्रको विषय इजलासमा उठेपछि गुपचुप ढंगले छापेर इजलासमा बुझाउने तयारी भएको खबर छापेको छ ।

सोही पत्रिकाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा राष्ट्रपतिको निर्णयको वैधतामाथि पनि प्रश्न उठेको खबर छापेको छ ।
कान्तिपुरले नै भारतले नेपाललाई निःशुल्क उपलब्ध गराएको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउन ६२ करोड लाग्ने भएको खबर छापेको छ । खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग ६२ करोड माग गरेको छ । मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालयल स्रोतले जनाएको छ ।

भारतले बिहीबार अनुदानमा १० लाख मात्रा कोभिसिल्ड उपलब्ध गराएको थियो । सो खोप टेकुस्थित केन्द्रीय भण्डारण केन्द्रमा राखिएको छ ।
नयाँ पत्रिका दैनिकले सरकारले भारतबाट ल्याएको खोप ७७ जिल्लामा एकैपटक दिने योजना बनाएको खबर छापेको छ भने सोही पत्रिकामा आफूहरुको अवहेलना गरेको भन्दै दुबै प्रहरीले जोखिम भत्ता नलिने भएको खबर छापेको छ । समाचारमा भनिएको छ–सरकारले अपहेलना गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जोखिम भत्ता नलिने निर्णय गरेका छन् । महामारीविरुद्ध खटिएकामध्ये १० प्रतिशतलाई मात्र भत्ता दिने सरकारको निर्णयपछि दुवै प्रहरी नलिने निष्कर्षमा पुगेका हुन् ।

यसअघि खटाइएको आधारमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय सरकारले गरेको थियो । तर, गत ८ मंसिरमा १० प्रतिशतलाई मात्र दिने मापदण्ड बनाएपछि दुवै प्रहरीले असन्तुष्टि जनाउँदै भत्ता नलिने अनौपचारिक जानकारी गृह मन्त्रालयलाई गराएका छन् ।

नयाँ पत्रिकाकै पहिलो पृष्ठमा लोकसेवाको साढे ४ हजार पदमा गरिएको विज्ञापनमा साढे ४ लाखले आवेदन दिएको खबर छापिएको छ । देशमा बेरोजगारीको अवस्था, सरकारी सेवाका लागि लोकसेवा आयोगले साढे चार हजार पदका लागि विज्ञापन खोल्दा साढे चार लाख आवेदन परेका हुन् । अर्को विडम्बना, यही वेला आएको कोभिड महामारीले गत वर्ष जम्मा तीन सय चार जनाले जागिर पाएका छन्, धेरै परीक्षा हुन सकेका छैनन् । लोकसेवा आयोगले गत आर्थिक वर्षमा चार हजार सात सय ५४ पदका लागि विज्ञापन गरेको थियो । तर, चार लाख ५१ हजार पाँच सय २६ जनाको आवेदन परेको थियो । ‘तर, गत वर्षका धेरैजसो विज्ञापनअनुसार अहिले परीक्षा सञ्चालन भइरहेका छन्, महामारीका कारण गत वर्षका धेरै परीक्षा रोकिएका थिए,’ आयोगका प्रवक्ता तोयनारायण सुवेदीले भने ।

कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्सा अच्कालि महँगिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ । तोरी, भटमास, सनफलावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रुपमा बढेको समाचारमा भनिएको छ ।

अन्नपूर्ण पोस्टमा नै अमेरिकी नवनियुक्त राष्ट्रपति जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय उल्ट्याएको खबर पहिलो पेज मै छापिएको छ । बाइडेनले कुल १५ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसमा आप्रवासीलाई राहत दिने, कयौं मुस्लिम देशमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाउनेलगायतका छन् । साथै उनले कोरोना खतरा रहेको भन्दै देशभर मास्क अनिवार्य गराउने निर्णय समेत गरेका छन् ।

नागरिक दैनिकले नेकपाका प्रचण्ड–माधव नेपाल पक्षले शुक्रबार प्रधानमन्त्री ओलीको कदम विरुद्ध प्रदर्शन गर्न लागेको  खबरलाई मुख्य समाचार बनाएको छ  भने पत्रिकाले राष्ट्रपतिको भूमिकामाथि प्रश्न सर्वोच्चको इजलासमा उठेको विषयलाई पनि प्रमुखताका साथ छापेको छ । उसो त अन्नपूर्ण पोस्टमा प्रधानमन्त्रीको विशेषाधिकारबारे केन्द्रीत भएर पनि बहस भएको समाचार छ ।

यसैगरी राजधानी दैनिकले विकासे मन्त्रालयको पुँजीगत खर्च कमजोर भएको समाचार विस्तृतमा छापेको छ भने यसबाहेक कोराना खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने समाचार पनि छापेको छ । समाचारमा भनिएको छ–स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले खोप लगाएकै कारण केही समस्या देखिए सरकारले उपचार गर्ने बताए ।

सरकारी अखबार गोरखापत्रले भने सर्वोच्चमा बहसको समयमा कडाइ गरिएको खबर छापिएको छ । सर्वोच्चले वकिल धेरै भएपछि हाल एक जना बराबर आधा घण्टा समय तोकेको छ । यसबाहेक सो पत्रिकाले सरकारी कामकारबाही, प्रधानमन्त्रीको भाषणलगायतका औपचारिक कार्यक्रमका समाचारलाई मुख्य बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्