
रुकुम (पूर्व)को यहाँका विभिन्न ठाउँमा नयाँ १० मतदान स्थल थप गर्न सिफारिस गरिने भएको छ ।
मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० ठाउँमा मतदान स्थल थप गर्न सिफारिस गरी पठाउने निर्णय भए ।
जिल्लामा मतदान स्थल र मतदान केन्द्र थप गर्ने विषयमा छलफल भई १० ठाउँमा नयाँ मतदान स्थल तोक्नका लागि सिफारिस गर्ने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी हर्कबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार सिस्ने गाउँपालिकामा चार, पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकामा तीन/तीन ठाउँमा नयाँ मतदान स्थल थप गर्नका लागि सिफारिस गरेर पठाइने छ ।
सिस्ने–१ को भट्टेचौर, वडा नं २ को नायगाड, ४ को झाक्रिपोले र ६ को खोपिचारमा नयाँ मतदान स्थलका लागि सिफारिस गरिने शाहीले बताए ।
यस्तै भूमे–६ को नाखे, वडा नं ८ को कुचिबाङ, ९ को सिमचौर, पुथाउत्तरगङ्गा–२ को हार्दिबाङ, वडा नं १० को घुम्लिबाङ र ७ को जाङमा नयाँ मतदान स्थलका लागि सिफारिस गर्ने निर्णय भएको शाहीले जानकारी दिए ।