१२ असार २०८३, शुक्रबार

स्वस्थानी व्रतकथा बिहीवारदेखि, व्रत बस्नेहरूबाट आवेदन आह्वान

माघ ११, २०७७
स्वस्थानी व्रतकथा बिहीवारदेखि, व्रत बस्नेहरूबाट आवेदन आह्वान

पौष शुक्ल पूर्णिमाका दिन (माघ १५ गते) बिहीवारदेखि हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधव नारायणको पूजा आराधना आरम्भ गर्दैछन् ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले नयाँ नियमसहित मेला व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएको छ । कोभिड–१९ को महामारीका कारण माघ १५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि समितिले ५० व्रतालु राख्ने गरी पूजा सञ्चालन गर्ने कार्यविधि बनाएको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए । 

उनले भने, ‘मेलामा जम्मा ५० जना व्रतालुलाई समावेश गरिनेछ, व्रत बस्न इच्छुक हुनेले भोलि (सोमवार) सम्म आवेदन दिनुपर्नेछ, व्रत बस्नका लागि २० देखि ५० वर्ष उमेर समूहका लागि मात्र समावेश गरिने नियम बनाएका छौं ।’

समितिले उनीहरूको पीसीआर, एक्स–रे रिपोर्ट आएपछि मात्रै व्रतका लागि योग्य मान्ने श्रेष्ठले बताए । गत वर्ष व्रतालुकोे संख्या ३०० भन्दा धेरै थियो । यस वर्ष कोभिड–१९ को महामारीका कारण समितिले ५० जनाको संख्या तोकेको हो । 

व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालु र भक्तजनबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ ।

मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्य लगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

मेलामा केही भक्तजन शालिनदीमा नुहाउन आउने हुँदा उनीहरुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर ठाउँ ठाउँमा साबुन पानी, स्यानिटाइजर र मास्क वितरण गर्ने तथा होडिङ बोर्ड राख्ने प्रबन्ध मिलाइसकिएको अध्यक्ष श्रेष्ठले बताए । मेला सञ्चालनमा भीडभाड नहुने गरी व्यवस्थापन गर्ने र माधव नारायण व्रतालु नुहाउने पोखरीमा यस वर्ष प्रतिबन्ध लगाउने गरी कार्यविधि अपनाउनसमेत जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको समितिले जनाएको छ ।   
    
गत वर्ष २२ लाख दर्शनार्थीले प्रत्यक्ष माधव नारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेका जनाउँदै समितिले यस वर्ष भने भक्तालुको संख्यामा कमी आउने बताएको छ । – आदित्य दाहाल/रासस

salt training

कमेन्ट गर्नुहोस्