
चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनलाई बेइजिङविरुद्ध युरोपलाई साझेदार नबनाउन चेतावनी दिएका छन् ।
चीनलाई विश्वव्यापी व्यापार र प्रविधि सञ्जालबाट बाहिर राख्न कोशिश गर्दा शीतयुद्ध पुनः चर्किने जोखिम रहेको उनले बताए ।
सीले विश्व आर्थिक मञ्चलाई भर्चुअल रूपमा गरेको सम्बोधन चीनले शक्ति प्रदर्शन गरेको अनि अमेरिकाका नयाँ राष्ट्रपतिलाई रेड लाइन यो हो भनी देखाउन कोशिश गरेको सन्दर्भमा आएको हो ।
बाइडनको टोलीले चीनको आर्थिक मोडलको सामना गर्न लोकतन्त्रहरूको गठबन्धन बनाउन आह्वान गरेकोमा सीले यस्तो गतिविधिको जोखिमका विषयमा सचेत बनाएका हुन् ।
‘सानतिना समूह गठन गर्ने, विश्व मञ्चमा नयाँ शीतयुद्ध शुरू गर्ने, अरूलाई थर्काउने र थिचोमिचो गर्ने, विभाजन गर्ने, आपूर्तिमा अवरोध गर्ने गर्दा संसार सभडन्तमा नभए पनि विभाजनमा अवश्य जान्छ,’ उनले बताए ।
‘इतिहास र वास्तविकताले हामीलाई बारम्बार स्मरण गराएका छन्– भिडन्तको बाटोमा हिँड्यौं भने सबै देशको हित अनि जनताको कल्याण हुन सक्दैन,’ उनले थपे ।
बाइडन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले फोनमा कुराकानी गरेर चीन लगायत अन्य परराष्ट्रनीतिका प्राथमिकतामा सँगै काम गर्न सहमति जनाएको भोलिपल्ट सीको बयान सार्वजनिक भएको हो ।
तर अमेरिकाले हस्तक्षेप गर्नुअघि नै चीनले युरोपेली संघसित लगानी सम्झौता गरेर कूटनीतिक विजय हासिल गरिसकेको छ ।