
घुस रकम २ लाख ७३ हजार ८ सय ५० रुपैयाँसहित यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालयका १ कर्मचारी र एक विचौलिया पक्राउ परेका छन् ।
कार्यालयका सहयोगी भोगेन्द्र कापरसहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित मंगलवार कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
आयोगले बुधवार एक विज्ञप्ति जारी गर्दै “स्काभेटर र लोडर” को सवारी चालक अनुमती पत्र (लाइसेन्स) वितरण गर्ने क्रममा सञ्चालित अन्तिम परिक्षाका परिक्षार्थीबाट अतिरिक्त रकम उठाइएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले कापरको कोठामा खानतलासी गर्दा २ लाख २३ हजार ८ सय ५० रुपैयाँ बरामद गरेको जनाएको छ ।
यस्तै परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भनिएका जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका, वडा नं। १० बस्ने बिचौलिया राज किशोर भगतको साथबाट समेत परीक्षार्थीहरुको नाम र दर्ता नं। भएको कागजात सहित ५० हजार रुपैयाँ बरामद गरिएको जनाएको छ ।
आयोगले मंगलवार दुवैलाई कार्यालय परिसरबाटै पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।