
संसारमा ढुसी २४ करोड वर्षअघि देखिएको अनुमानलाई मिथ्या साबित गर्दै चीनमा साढे ६३ करोड वर्षअघिको ढुसी पत्ता लागेको छ ।
वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले ढुसी जस्तो देखिने माइक्रोफोसिल दक्षिण चीनमा रहेका चट्टानहरूको कापमा फेला पारेको हो ।
अनुसन्धाताहरूका अनुसार, यो ढुसी एडियाकारान पिरियडमा विकसित भएको हो । त्यतिखेर पृथ्वी विनाशकारी हिमयुगबाट बौरिँदै थियो र बौरिनमा यस सूक्ष्मजीवले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन सक्छ ।
अन्य सूक्ष्मजीवसँगै ढुसी जस्तो देखिने जीवले समुद्रमा फोस्फोरस पठाएर जलीय जैविक उत्पादनमा योगदान गरेको थियो ।
यो अवशेष डोलोस्टोन चट्टानहरूको कापमा फेला परेको हो । भर्जिनिया टेक, चाइनिज एकेडमी अफ सायन्सेज, गुइचो एजुकेसन युनिभर्सिटी र युनिभर्सिटी अफ सिनसिनातीका वैज्ञानिकहरूको संयुक्त टोलीले यसलाई पत्ता लगाएको हो ।
यो अनायासै पत्ता लागेको सियाओ ल्याबमा विद्यावारिधि गरिरहेका थ्याँ गाँ नामक विद्यार्थीले बताए ।