अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले उइगुर मुसलमानहरूको विषयमा दिएको बयानले चीनलाई आक्रोशित बनाएको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले यस विषयमा गरिएको प्रश्नको उत्तर निकै झर्किएर दिएका छन् ।
बिहीवार भएको प्रेस सम्मेलनमा चाओले झर्किंदै भने, ‘चीनमा कुनै नरसंहार भएको छैन, छैन, छैन । यस कुरालाई तीनपटक दोहोर्याउनुपर्छ ।’
ब्लिन्केनले चीनमाथि उइगुर मुसलमानको नरसंहार गरेको आरोप लगाएका थिए ।
अमेरिकाका पूर्व परराष्ट्रमन्त्री माइक पम्पेओले सिन्ज्याङ प्रान्तमा उइगुर मुसलमान र अन्य धार्मिक अल्पसंख्यक समूहलाई निशाना बनाउँदै नरसंहार गरेको बताएका थिए । बहालवाला परराष्ट्रमन्त्री ब्लिन्केनले पनि त्यही आरोप दोहोर्याएका छन् ।
चाओले भने, ‘सिन्ज्याङले प्रगति गरिरहेको छ र मानिसहरूको जीवनस्तर बढेको छ । जसले जति कोशिश गरे पनि सिन्ज्याङको स्थिरतालाई हानि गर्न सक्दैनन् अनि सिन्ज्याङको सुखद भविष्यलाई रोक्न पनि सक्दैनन् ।’