प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहका शीर्ष नेता आइतवार माइतीघर मण्डलामा धर्नामा बसे ।
अध्यक्षहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत शीर्ष नेता एकसाथ धर्नामा देखिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित भइसकेको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहले दुई चरणको आन्दोलन सकेर हाल तेस्रो चरणको आन्दोलन गरिरहेको छ ।
माघ १४ गतेबाट माइतीघरमा विघटित प्रतिनिधि सभामा नेकपाबाट प्रतिनिधित्व गरेका सांसदहरूले धर्ना दिँदै आएका थिए ।
त्यसैलाई निरन्तरता दिने क्रममा आइतवार प्रचण्ड–नेपाल समूहका शीर्ष नेता धर्ना बस्न पुगेका हुन् । धर्नाका क्रममा दोस्रो तहका नेताहरूले संक्षिप्त सम्बोधन समेत गरे ।
पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली राजावादीहरूको उक्साहटमा लागेर नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्ने तयारीमा रहेको आशंका व्यक्त गरे ।
पाण्डेले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आधुनिक महाभारत समेत भन्न भ्याए ।
स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री ओली पक्षीय नेकपाले माघ २३ गते काठमाडौंमा गर्न लागेको सभालाई पञ्च र्यालीको संज्ञा दिइन् ।
त्यसक्रममा केहीदिन अघिसम्म ओली समूहका कार्यक्रममा सक्रिय निवर्तमान सांसद गंगा चौधरीले पनि सम्बोधन गरिन् । ओलीले देशलाई दुर्घटनातर्फ लैजान खोजेको उनको आरोप थियो ।
धर्ना सकिने बेलामा पार्टी वरिष्ठ नेता झलनाथ खनाल पनि माइतीघरमा देखिए । उनले ओली सरकारलाई पाकेको फलको संज्ञा दिँदै अब झर्न मात्र बाँकी रहेको बताए ।
धर्नामा देखिए पनि अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले भने सम्बोधन गरेनन् ।
प्रचण्ड र नेपाल सहभागी भएसँगै उक्त समूहले धर्नाको कार्यक्रमलाई छोट्याएको छ । आन्दोलनका अन्य कार्यक्रममा पनि केन्द्रित हुनुपरेकाले २१ गतेसम्मका लागि पूर्व निर्धारित धर्ना आजैबाट अन्त्य गरिएको स्थायी कमिटी सदस्य पम्झा भुसालले बताइन् ।
हेर्नुहोस् भिडियो रिपोर्ट -