०१ असार २०८३, सोमबार

नारायणहिटी अगाडि ओली पक्षको जनसभा, प्रचण्ड- नेपाल समूहले लगायो हिन्दुराष्ट्र फर्काउन लागेको आरोप

नारायणहिटी अगाडि ओली पक्षको जनसभा, प्रचण्ड- नेपाल समूहले लगायो हिन्दुराष्ट्र फर्काउन लागेको आरोप

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बागमती प्रदेश कमिटीले प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौं जनसभा गर्ने तयारी गरेको छ ।

सभा आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको नेकपा ओली समूहले जनाएको छ । काठमाडौंमा ट्राफिक जाम नहोस् भनेर यो स्थान छानिएको बताइएको छ ।

सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने ओली समूहको तयारी छ ।

कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको  बताए  ।
यसैबीच प्रचण्ड-नेपाल समूहले भने ओलीले हिन्दुराष्ट्र फर्काउन खोजेको आरोप लगाएको छ ।
सो समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली नेपाललाई हिन्दु राष्ट्र बनाउने कोशिषमा लागेको आरोप लगाए ।

ओलीको कदमले दक्षिणपन्थीहरू फुरफुर गरिरहेको उनको आरोप छ ।

आइतवार माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले पञ्चायतको बेलामा कम्युनिस्टहरूमाथि आक्रमणमा उत्रेकाहरू अहिले ओलीको प्रसंशामा लागिरहेको बताए ।

‘ओलीको कदमले दक्षिणपन्थी फुरफुर गर्न थालेका छन्, २३ गतेको सभामा राजावादीहरू ओलीको सभामा आउने भनिरहेका छन् । पञ्चायतको बेलामा कम्युनिस्टलाई आक्रमण गर्ने भद्रकुमारी घलेहरू ओलीको समर्थनमा लाग्नुको अर्थ के हो ?,’ पाण्डेले भने ।

salt training

कमेन्ट गर्नुहोस्