२४ जेठ २०८३, आइतबार

पोखरामा ‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी

माघ १९, २०७७
पोखरामा ‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी

कोरोना भाइरस संक्रमणका कारण लामो समय ठप्प रहेका खेलकुद गतिविधि पोखरामा सञ्चालन हुने तयारीमा छन् ।

वर्षभर नै खेलकुद गतिविधि भइरहने पोखरामा कोरोना महामारीपछि गत चैत पहिलो हप्तादेखि खेल गतिविधि रोकिएकामा पछिल्लो समय फूटबल, भलिबल लगायत खेलका प्रतियोगिताका तयारी गरिएको छ । 

गत मंसिर पहिलो सातादेखि सरकारले खेलकुद प्रशिक्षण लगायतका गतिविधि सञ्चालन गर्ने निर्णय गरेपछि खेल प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । 

कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखरामा फागुन पहिलो हप्ता ‘मुख्यमन्त्री कप महिला तथा पुरुष अन्तर जिल्ला’ भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल खेलका माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकुदको हब’का रूपमा विकास गर्ने लक्ष्यसहित आगामी फागुन ४ देखि ८ गतेसम्म पोखरा रंगशालाभित्रको भलिबल कोर्टमा प्रतियोगिता गरिने संघका जिल्ला अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको तयारीस्वरुप अहिले जिल्लास्तरमा खेलाडी छनोट प्रक्रिया सञ्चालन भइरहेको छ । उनले भने, ‘गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालार्ई लक्ष्य गरी प्रतिभावान भलिबल खेलाडी उत्पादन गर्ने तथा प्रदेशमा खेलकुद विकासको उद्देश्यले पहिलोपटक मुख्यमन्त्री कप गर्न लागेका हौं । खेलाडी छनोटलगायत तयारीका काम भइरहेको छ ।’

प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी तृतीय टोलीले ५० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले नगद ५/५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ले समेत ५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् । 

गण्डकी प्रदेशको कास्की, स्याङ्जा, गोरखा, तनहुँ, मनाङ, मुस्ताङ, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङ र पर्वत गरी ११ वटै जिल्लाको प्रतियोगितामा सहभागिता रहने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्