
राष्ट्रपति कार्यालय शितलनिवासमा बुधवार बिहान भएको संवैधानिक आयोगका पदाधिकारीको शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा सहभागी भएनन् ।
प्रतिनिधिसभा विघटनपछि गहिरिएको राजनीतिक संकटसँगै राज्यका विभिन्न निकायबीच नै विवाद देखिँदै गएको छ ।
संवैधानिक आयोगका पदाधिकारीको सिफारिसमा असन्तुष्टि जनाइसकेका सभामुख सापकोटाले शपथ कार्यक्रम समेत बहिष्कार गरेका छन् । राष्ट्रपति कार्यालयमा हुने संवैधानिक निकायका पदाधिकारीको शपथ कार्यक्रममा उपराष्ट्रपति र सभामुख समेत उपस्थित हुने प्रचलन रहेको छ ।
शपथ कार्यक्रममा सहभागी नभएका उपराष्ट्रपति पुन र सभामुख सापकोटा नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै आन्दोलन समेत गरिरहेका छन् ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधवार विभिन्न आयोगका पदाधिकारीको नियुक्ति र शपथ भएको छ ।