११ असार २०८३, बिहीबार

ट्राफिक नियम उल्लंघनको जरिवाना कनेक्ट आईपीएस प्रणालीमार्फत भुक्तानी गर्न सकिने

ट्राफिक नियम उल्लंघनको जरिवाना कनेक्ट आईपीएस प्रणालीमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा बुझाउनु पर्ने जरिवाना रकम अब कनेक्ट आईपीएस प्रणाली मार्फत बैंक खाताबाट अनलाइन नै गर्न सकिने कार्य महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ । 

उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईज्यू तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिहं प्रधानज्यूबाट हस्ताक्षर भएको छ ।

उक्त भुक्तानीका लागि सेवाग्राहीले www.connectips.com मा लगइन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी ड्यासबोर्डमा रहेको “सरकारी भुक्तानी”भित्र “नेपाल ट्राफिक पुलिस” छनोट गर्नुपर्ने हुन्छ । 

त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिन्छ । यसरी गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने  ट्राफिकको सिस्टममा पनि उक्त भुक्तानीको विवरण जान्छ ।

ट्राफिक जरिवानाको भुक्तानी अनलाइनबाट भएलगत्तै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने यस सेवालाई आगामी दिनमा एनसीएचएलमा आबद्ध बैंक वित्तिय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ्ग एवं अन्य आबद्ध पीएसपी वालेटमार्फत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ ।

कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा ५३ बैंक तथा वित्तिय संस्थाहरू सदस्यको रुपमा आबद्ध रहेका छन् ।

हाल यस प्रणाली मार्फत नेपाल सरकारको विभिन्न निकायहरू, महालेखा परीक्षक कार्यालय, आन्तरिक राजस्व कार्यालय, लोक सेवा आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, राहदानी विभाग, नेपाल राष्ट्रबैंकको परीक्षाको आवेदन शुल्क, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका निकायहरुको भुक्तानी संकलन तथा भुक्तानीका कारोबारहरू हुँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्