भारतको चेन्नईमा सोमवार एक जोडीले समुद्रको ६० फीट तल पुगेर विवाह गरेको छ ।
भी चिन्नादुरै र एस श्वेताले पहिलोपटक हिन्दू रीतिरिवाजअनुसार पानीमुनि गएर विवाह गरेको बताइएको छ ।
जोडी विवाहको परिधान लगाएर नीलनकाराई तटबाट केही पर गएर एकाबिहानै समुद्रमा पसेका थिए ।
दुलहीले रातो सारी लगाएकी थिइन् भने दुलाहाले धोती लगाएका थिए । विवाहअघि उनीहरूले वेट सुट लगाएर डाइभिङको अभ्यास गरेका थिए ।
कुल ४५ मिनेटमा विवाह समारोह सम्पन्न भएको थियो ।
दुलाहा चिन्नादुरै सफ्टवेयर इन्जिनीयर र अनुमतिप्राप्त स्कुबा डाइभर हुन् । उनले विगत १२ वर्षदेखि डाइभिङ गर्दै आएका छन् ।
दुलही श्वेताले विवाहको एक महिनाअघिदेखि गोताखोरीको अभ्यास गरिरहेकी थिइन् । दुलाहाको परिवारले पानीमुनि विवाहको प्रस्ताव गरेको उनले बताइन् ।