
पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको आम हड्तालका कारण काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।
बन्द आह्वानकर्ता नेकपाका नेता कार्यकर्ता बिहानै देखि सडकमा उत्रेका छन् ।

बन्द गराउँदै हिंड्ने तीन दर्जन भन्दा बढी कार्यकर्तालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य लगायतका नेतालाई कलंकीबाट पक्राउ गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

बन्दकर्ताले बिहान काठमाडौंको गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका छन् । आगजनीका बाबजुत उपत्यकामा छिटफुट सार्वजनिक यातायात चलेका छन् । सडकमा न्युन मात्रामा मात्र प्रदर्शनकारी देखिएका छन् ।
प्रचण्ड नेपाल समूहको हडतालमा सवारी साधन सञ्चालन गर्न गृहमन्त्रालयले बुधवार राति अपिल गरेको थियो । संवैधानिक आयोगहरूका गरिएको नियुक्तिको विरोधमा प्रचण्ड नेपाल समूहले बिहीवारका लागि आम हड्ताल आह्वान गरेको थियो ।