
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन पहिलो हप्तादेखि संयुक्त आन्दोलन शुरू हुने बताएका छन् ।
प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध अझै ठूलो आन्दोलन हुने दाबी गरे ।
बिहीवारको आमहड्ताल सफल बनाउन भन्दै ललितपुरको सातदोबाटो क्षेत्रमा सडकमा आएका प्रचण्डले अब हुने आन्दोलनले सरकारलाई झुकाएरै छाड्ने बताए ।
‘आगामी दिनमा अझै ठूल्ठूला आन्दोलनमा जान्छौं, सम्भवत फागुनको पहिलो हप्तादेखि संयुक्त आन्दोलन हुन्छ,’ प्रचण्डले भने, ‘आन्दोलनले निरंकुशताका पक्षपातीलाई बढार्छ, यो सरकारको आयु सकिन्छ ।’
प्रचण्डले आफूहरूले गरिरहेको आन्दोलन जनता र लोकतन्त्रको लागि भएको संघर्ष भएको बताए । उनले सरकारले संविधान मिच्दै दिउँसै रात पार्ने काम गरेको आरोप पनि लगाए ।