
नेकपा प्रचण्ड–नेपाल समूहले माघ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक र प्रतिगामी कदम’ विरुद्ध माघ २८ गते राजधानी काठमाडौंमा फेरि जन प्रदर्शन गर्ने भएको छ ।
सो समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन सक्रिय समर्थन र सहभागिता जनाउनका लागि पार्टी पङ्क्तिलाई अपील गरेका छन् ।
सोही समूहले बिहीबार देशव्यापी आमहड्ताल गरेको थियो । ५ बजेदेखि आमहड्तालको कार्यक्रम सकिएपछि श्रेष्ठले जारी गरेको विज्ञप्तिमा हड्ताल सफल भएको दावी गरिएको छ ।
शान्तिपूर्ण आन्दोलनका क्रममा काठमाडौँबाट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय कमिटी सदस्य हितमान शाक्य, डा. विजय पौडेल, अमृता थापा, कृष्ण केसी, तनहुँबाट प्रतापलाल श्रेष्ठका साथै देशभरका सयौँ नेता–कार्यकर्तालाई प्रहरीलाई गिरफ्तार गरेको श्रेष्ठले जानकारी दिए ।
यस्तै प्रहरी हस्तक्षेपबाट स्थायी कमिटी सदस्य मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य रामचन्द्र झालगायत गम्भीर घाइते भएको भन्दै प्रचण्ड नेपाल समूहले घाइतेको स्वास्थ्य लाभको कामनासहित पक्राउ परेकाहरुको रिहाइको माग गरेको छ ।