०५ असार २०८३, शुक्रबार

निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने– ‘चुनावी तयारीको काम अझै प्रभावकारी बनाउनू’

निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने– ‘चुनावी तयारीको काम अझै प्रभावकारी बनाउनू’

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि निर्वाचन आयोगले गरेको कामप्रति सन्तोष व्यक्त गर्दै तयारीलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन आग्रह गरेका छन् । 

मंगलवार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले वैशाखका लागि तोकिएको चुनावको तयारीमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका हुन् । 

अर्थमन्त्री विष्णु पौडेलसहित आयोग पुगेका प्रधानमन्त्री ओलीले निर्वाचनका लागि सरकारका तर्फबाट स्रोत साधनमा कमी हुन नदिने बताएका थिए । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले निर्वाचनको सन्दर्भमा आयोगले गरेको तयारीबारे जानकारी लिन प्रधानमन्त्री ओली आयोग पुगेको बताए । 

‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीबारे जानकारी गराउनुभयो । प्रधानमन्त्रीज्यूले आयोगको काम सन्तोषजनक रहेको हुनाले धन्यवाद ज्ञापन गर्नुभएको छ । निर्वाचनको तयारीका लागि ध्यानाकर्षण गराउनुभएको छ’ थापाले भने । 

त्यसक्रममा आयोगले वैशाखमै चुनाव गराउन सक्षम रहेको जानकारी गराएको थियो ।

सल्लाहकार थापाले मंगलवार आयोगमा पार्टीको आधिकारिकता विवादबारे छलफल नभएको दाबी गरे । 

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले सोमवार गरेको निर्णयबारे पनि आयोगलाई जानकारी गराएका छन् । 

सरकारले पहिलो चरणमा चारवटा प्रदेश र दोस्रो चरणमा तीनवटा प्रदेशमा चुनाव गर्नेगरी सोमवार निर्णय गरेको थियो । 

प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ को चुनाव एकदिन पनि पर नसर्ने बताउँदै आएका छन् । 

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि चुनाव घोषणा गरेकी थिइन् । 

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्