
उत्तर कोरियाका ह्याकरहरूले देशको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा लगानी गर्न सन् २०२० मा करोडौं डलर चोरेको संयुक्त राष्ट्रसंघको एक गोप्य प्रतिवेदनले खुलासा गरेको छ ।
उक्त दस्तावेजले किम जोङ उनको शासनले आर्थिक संस्थान तथा भर्चुअल करेन्सी एक्सचेन्ज हाउसबाट पैसा चोरेर हतियार खरिद गर्न तथा देशको खस्कँदो अर्थतन्त्रलाई गतिमान बनाउन लगानी गरेको आरोप लगाएको छ ।
राष्ट्रसंघको सदस्य रहेको एक मुलुकले दाबी गरेअनुसार, ह्याकरहरूले ३१ करोड डलरभन्दा बढी रकम सन् २०१९ देखि सन् २०२० को नोभेम्बर महिनासम्म उडाइदिएका थिए ।
उत्तर कोरियाले त्यस रकमबाट फिसाइल म्याटेरियल उत्पादन गरेको, आणविक भट्टीको व्यवस्थापन गरेको र ब्यालिस्टिक क्षेप्यास्त्र संरचनालाई स्तरोन्नति गरेको आरोप प्रतिवेदनमा लगाइएको छ ।
उसले वर्षौंदेखि शक्तिशाली आणविक हतियारहरू र त्यसलाई फिट गर्ने क्षेप्यास्त्रहरू विकसित गर्न खोजिरहेको छ । त्यस्ता हतियार निर्माण गर्न निकै धेरै रकम खर्च हुने गरेको भए पनि र हतियार बनाएकैले उसमाथि राष्ट्रसंघले प्रतिबन्ध लगाएको भए पनि उत्तर कोरिया हच्किएको छैन ।
यो प्रतिवेदन उत्तर कोरियासम्बन्धी राष्ट्रसंघीय विज्ञहरूको प्यानलले तयार पारेको हो । यस निकायले किमको शासनविरुद्ध लगाइएको प्रतिबन्ध पालन भए नभएको र कत्तिको प्रभावकारी छ भन्ने कुराको निगरानी गर्छ ।