०९ असार २०८३, मंगलबार

खोटाङका भेडाबाख्रामा रोग देखिएपछि पीपीआरविरुद्धको खोप

माघ २८, २०७७
खोटाङका भेडाबाख्रामा रोग देखिएपछि पीपीआरविरुद्धको खोप

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पीपीआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान शुरू गरिएको छ ।

हरेक वर्ष किसानले पालेका खसीबाख्रा तथा भेडालाई पीपीआरको महामारीले सताउन थालेपछि गाउँपालिकाका ७ वटै वडामा पीपीआरविरुद्धको खोप दिन साप्ताहिक अभियान शुरू गरिएको हो ।

राष्ट्रिय पीपीआर दिवसअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलसँगको सहकार्यमा गाउँपालिकाले खसीबाख्रा र भेडालाई पीपीआर विरुद्धको खोप दिन थालिएको गाउँपालिकाको कृषि शाखा संयोजक सरगम बुढाथोकीले बताए ।

हाल गाउँपालिकाका ७ वटै वडामा पशु प्राविधिकले खसीबाख्रा र भेडालाई पीपीआरविरुद्धको खोप दिइरहेका छन् ।

महामारीका रूपमा फैलिन सक्ने पीपीआर रोगबाट खसीबाख्रा र भेडालाई जोगाउन पीपीआरविरुद्धको खोप दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । ‘गत वर्ष गाउँपालिकाभित्रका किसानले पालेका करीब ३०० भेडाबाख्रा मरेका थिए,’ उनले भने, ‘यस वर्ष रोग देखिनुभन्दा पहिले नै १२ हजार खोपको व्यवस्था गरेर खसीबाख्रा र भेडालाई खोप दिन अभियान शुरू गरिएको हो ।’

पीपीआर विरुद्धको खोप सातवटै वडामा सात दिनसम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । हप्ता दिनको अवधिमा खसीबाख्रा तथा भेडापालक किसानले सम्बन्धित वडाका जनप्रतिनिधि एवं पशु प्राविधिकसँग समन्वय गरेर खसीबाख्रा र भेडालाई खोप दिनसक्ने गाउँपालिकाले जनाएको छ ।

भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालयले पीपीआर विरुद्धको खोप निःशुल्क उपलब्ध गराएको गाउँपालिका प्रमुख राईले बताए । गत वर्ष पीपीआर रोगका कारण वडा नम्बर २ डाँडागाउँका दीपेन्द्र श्रेष्ठको सुनगाभा कृषि तथा बाख्रा फार्मको एक बोयर बोकासहित २२ बाख्रा मर्दा खोर नै रित्तिएको थियो ।

यसअघि जन्तेढुंगा र खोटेहाङ गाउँपालिकाका किसानले पालेको बाख्रा अज्ञात रोगले मर्न थालेपछि किसान चिन्तित थिए । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गाह्रो हुने, छेर्नेलगायतका लक्षण देखिएको केही दिनमै बाख्रा मर्ने गरेको किसानले बताएका थिए ।  

अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानको खोर नै रित्तिएको स्थानीय बासिन्दाले बताएका छन् । अज्ञात रोगले धमाधम बाख्रा मर्न थालेपछि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका किसान सबैभन्दा बढी मारमा परेका छन् । 

१० स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँका किसानले पालेका बाख्रामा गत वर्ष पनि अज्ञात रोग फैलिएको थियो । स्थानीय तह लागू भएपछि जिल्लाका अधिकांश किसानले व्यावसायिकरूपमा बाख्रापालन शुरू गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्