०४ असार २०८३, बिहीबार

गौशालामा प्राविधिक शिक्षालयका लागि १० कठ्ठा जग्गादान

माघ २८, २०७७
गौशालामा प्राविधिक शिक्षालयका लागि १० कठ्ठा जग्गादान
प्रतिकात्मक तस्वीर

महोत्तरीको गौशाला नगरपालिका–१२ मा प्राविधिक शिक्षालय भवनका लागि १० कठ्ठा जग्गा निःशुल्क प्राप्त भएको छ । 

गौशाला–१२ कै बासिन्दा पुराना वामपन्थी नेता महेन्द्र लामाले शिक्षालय भवनका लागि १ करोडभन्दा बढी मूल्य पर्ने १० कठ्ठा जग्गा दान गरेका हुन् ।

भवन निर्माणको शिलान्याससमेत गरिएको सो जग्गा मालपोत कार्यालय महोत्तरीबाट प्राविधिक शिक्षालय गौशालाका नाममा दर्ता पनि भइसकेको छ ।

प्राविधिक शिक्षालय भवन निर्माणका लागि जग्गा प्राप्त भएर थप सहयोग पाइन थालेपछि भवन निर्माणको कामले गति लिएको छ । आफ्नै नगरपालिकाको स्रोत, प्रदेश र संघीय सरकारबाट प्राप्त हुने सहयोग र शिक्षाप्रेमीबाट थप सहयोगको प्रतिबद्धताले शिक्षालय भवन चाँडै तयार हुने विश्वास जागेको नगरप्रमुख शिवनाथ महतोको भनाइ छ ।
 
गौशाला–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयुर्वेद विज्ञान विषयको डिप्लोमा तहको पठनपाठन शुरू गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को आवद्धता र स्वीकृतिमा सञ्चालन गरिएको आयुर्वेद विज्ञान विषयको पठनपाठनबारे सामाजिक चासो निकै बढेको गौशाला–१२ का वडाध्यक्ष कृष्णबहादुर विश्वकर्मा बताउँछन् । परिषद्सँगको समन्वयबाट गौशाला नगरपालिकाले आयुर्वेद विषयको पठनपाठन सञ्चालनमा ल्याएको हो ।

आयुर्वेद विज्ञान विषयको पठनपाठन सञ्चालन गर्ने राष्ट्रिय मावि कान्तिबजार प्रदेश नम्बर २ कै पहिलो विद्यालय बनेको छ ।

आयुर्वेद विज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर यो प्राचीन विषयबारे आम चासो बढाउँदै मानिसको जीवन पद्धतिसँग जोड्न आफ्नो ठाउँमा आयुुर्वेद विषयको पठनपाठन शुरू गरिएको नगर प्रमुख महतो बताउँछन् ।

पछिल्लो कालमा पश्चिमा विज्ञानतर्फ आकर्षण बढेकै कारण समाजबाट योग, ध्यान लोप हुँदै गएको हुँदा तीनै तहका सरकारको प्रयत्नमा प्राचीन यो विषयलाई जीवन्त बनाउन आवश्यकता रहेको महतोको भनाइ छ । स्वास्थ्य क्षेत्रमा मध्यमस्तरीय जनशक्ति उत्पादन गर्नका लागि आयुर्वेद शिक्षाको भूमिका हुने महतोले विश्वास व्यक्त गरे ।

गौशाला नगर क्षेत्रमा आयुर्वेद अस्पताल स्थापनाको कामले पनि गति लिएको छ । यस प्रयोजनका लागि प्रदेश नम्बर २ सरकारको सामाजिक विकास मन्त्रालयबाट आयुर्वेद अस्पताल निर्माणका लागि ३० लाख बराबरको सहयोग प्राप्त भएको नगर प्रमुख महतोले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्