
निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्ने चलचित्र ‘घिन्ताङ’का लागि केहि समय अघि अभिनेत्री एलिजा गौतमले चलचित्र साइन गरेकी थिइन् ।
मुख्य अभिनेत्रीमा काम गर्ने गरी उनले यो प्रोजेक्टमा हात हालेकी थिइन् । लगत्तै लोकान्तरसँग भएको संक्षिप्त वार्तामा उनले भनेकी थिइन, ‘चलचित्रको कथा मन प¥यो, राम्रो पारिश्रमिक मिल्यो । काम गर्न राजी भएँ ।’ चलचित्र साइन गरेको केहि हप्तामै यी अभिनेत्रीले चलचित्रबाट अलग भएको घोषणा गरेकी छन् ।
यो चलचित्रको छायांकन फागुनको पहिलो साताबाट सुरु गर्ने निर्माण पक्षको योजना थियो । अभिनेत्रीले अन्तिम समयमा हात झिकेपछि चलचित्रको छायांकन केहि पछि धकेलिन सक्ने अनुमान गरिएको छ ।
अभिनेत्री एलिजाले आफ्नी आमा बिरामी भएकाले क्यानडा जान लागेको बताउँदै समय दिन नसक्ने भएकाले चलचित्रबाट हात झिकेको बताएकी छन् । चलचित्र अनुरागबाट चलचित्र उद्योगमा छिरेकी उनी न म्युजिक भिडियो न चलचित्र कतैबाट पनि सफलता हात पार्न सकेकी छैनन् । तथापि उनका म्युजिक भिडियो भने लगातार आइरहेका छन् ।