१३ असार २०८३, शनिबार

नेकपा फुटेको होइन, केही स्वार्थी षड्यन्त्रकारीहरू चोइटिएका हुन् : महासचिव पौडेल

नेकपा फुटेको होइन, केही स्वार्थी षड्यन्त्रकारीहरू चोइटिएका हुन् : महासचिव पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा फुटेको नभई केही स्वार्थी षड्यन्त्रकारीहरू चोइटिएका बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले ओली समूह नै आधिकारिक नेकपा भएको दाबी गरे ।

‘कतिपय मानिसहरूलाई नेकपा फुट्यो भन्ने लागेको छ । तर धनगढीदेखि शुरू भएको जनसभा बुटवलमा हुँदैछ, विराटनगर, सुर्खेत, पोखरामा हुनेछ, यी जनसभाले के पुष्टि गर्दैछ भने नेकपा फुटेको होइन, फुट्ने छैन,’ उनले भने, ‘केही स्वार्थी, षड्यन्त्रकारी, विभाजनकारी तत्वहरू चोइटिएका हुन्, नेपाल कम्युनिस्ट पार्टी फुटेको छैन, नेपाली जनताले फुट्न दिँदैनन् । कमरेड केपी शर्मा ओली नेतृत्वको नेकपामा जनमत रहेको छ ।’

प्रधानमन्त्री ओलीको नेतृत्वमा नै संविधान बनेको उनले स्मरण गरे । ‘हामीले निर्माण गरेको संविधान हरेक दृष्टिले लोकतान्त्रिक छ । यो संविधान निर्माणको काम र अगुवाइ कमरेड केपी ओलीले गर्नुभएको थियो । पहिलो संविधान सभामा सबैभन्दा ठूलो दल भएर पनि प्रचण्डजीले संविधान निर्माणको अगुवाइ गर्न सक्नुभएन । अकालमै संविधानसभा अवसान भयो,’ उनले भने, ‘दोस्रोपटक निर्वाचन गरेर संविधान निर्माणको अगुवाइ केपी ओलीले गर्नुभएको थियो । संविधान बनेलगत्तै भूकम्पले थिलोथिलो भएको देशमा नाकाबन्दीको सामना गर्नुपर्‍यो । अनि कमरेड केपी ओली प्रधानमन्त्री भएर राष्ट्र, सर्वभौमसत्ताको रक्षा गर्दै देशको नेतृत्व गर्नुभयो ।’

प्रतिपक्षी दलले समेत विरोध गर्न नसकिरहेका बेला पार्टीभित्रैबाट विरोध गरेर सरकारको काममा अवरोध गर्न खोजिएको मन्त्री पौडेलले बताए । ‘नेपाली जनताले साथ दिइरहेको छ, प्रतिपक्षले विरोध गर्न सकिरहेको छैन । तर पार्टीभित्रका साथीभाइहरू एकपछि अर्काे बहानाबाजी गर्नुहुन्छ, षड्यन्त्र गर्नुहुन्छ, सरकारलाई कसरी हटाउने ? केपी ओलीलाई प्रधानमन्त्रीबाट कसरी हटाउने ? उहाँको एजेन्डा एउटै छ, ध्याउन्न त्यति मात्रै छ,’ उनले भने ।

पार्टी र मुलुकको सत्ता कब्जा गर्ने महत्त्वाकांक्षाले गर्दा केही व्यक्तिहरू चोइटिएर जाने स्थिति आएको मन्त्री पौडेलले बताए । ‘नेकपालाई विभाजित गर्न नेपाली जनताले साथ दिने छैनन्, कार्यकर्ताले साथ दिने छैनन्,’ उनले भने, ‘हामीले पार्टी एकता जोगाएर अगाडि बढ्न चाहेका हौं, सरकारलाई जनता र राष्ट्रका पक्षमा काम गरेर परिणाम अगाडि बढाउन चाहेका हौं ।’

सडकमा आन्दोलन गरिरहेका नेताहरूमध्ये केहीलाई अलमल देखिएको मन्त्री पौडेलले बताए । ‘केही मानिसहरू अहिले सडकमा गएका छन्, केहीलाई अलमल छ, अन्योल छ, उहाँहरू के हुने होला, कसो हुने होला भन्दै हुनुहुन्छ । केही मुठ्ठीभर मानिसहरू, जसले एकता देख्न चाहेका छैनन्, विकास र समृद्धि देख्न चाहेका छैनन्, जसले लोकतन्त्र सबल भएको देख्न चाहेका छैनन्, त्यस्ता केही तत्व र प्रवृत्तिहरू सडकमा लाग्लान् । जो–जो अन्योलमा हुनुहुन्छ, उहाँहरू फर्केर यही आउनुहुन्छ । अलमलमा नपर्नुस्, आउनुहोस् । कमरेड केपी शर्मा ओली नेतृत्वको यही पार्टीले समृद्धिको अभियान अगाडि बढाउँछ,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहासिक महत्त्वका कीर्तिमानी काम गरेको मन्त्री पौडेलले बताए । ‘पार्टीकै साथीहरूको षड्यन्त्र, अवरोध र व्यवधानका बाबजुद पनि काम गर्दै सरकार अगाडि बढेको छ,’ उनले भने, ‘कमरेड केपी शर्मा ओलीको नेतृत्वमा समाजवाद स्थापना गरेरै छाड्ने छौं ।’

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन भएरै छाड्ने उनले बताए । ‘कतिपय मानिसले भ्रम छर्ने कोसिस गरेका छन्, पार्टीको आधिकारिकता र चुनाव चिह्नको सन्दर्भमा । यति ठूलो जनमत केपी शर्मा ओलीको नेतृत्वमा छ भने योभन्दा ठूलो वैधानिकता के हुन्छ ? जनताको ऐक्यवद्धताभन्दा ठूलो वैधानिकता केही हुन्छ ?’ उनले भने, ‘केही मान्छेहरू चुनाव हुँदैन भनेर भ्रम छरिरहेका छन्, चुनाव नभएर के हुन्छ ? चुनावलाई संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन । वैशाखको चुनावलाई कुनै पनि तागतले रोक्ने छैन । वैशाख १७ र २७ गतेको चुनावको तयारीमा लाग्नुस् ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउन खोज्दा प्रचण्डले सडकमा पछारिनुपरेको बताए । उनले बुटवलको सभाले राष्ट्रलाई एकताको सन्देश दिएको बताए ।

‘जनता प्रधानमन्त्रीको पक्षमा रहेको देखिएको छ । हामी प्रधानमन्त्रीलाई भरोसा दिन चाहन्छौं, होस्टेमा हैंसे गर्न चाहन्छौं,’ उनले भने, ‘केही नेताहरूले बाटो बिराएका छन्, बाटो बिराएका नेताहरू फर्किआउनुहोस्, बाटो बिराउनुभयो भने राजनीतिक भविष्य सुरक्षित हुने छैन भन्ने सन्देश यो सभाले दिएको छ ।’

आगामी वैशाखमा चुनाव हुने र केपी शर्मा ओली नेतृत्वको पार्टीले पहिलेभन्दा राम्रो परिणाम ल्याउने दाबी समेत पोखरेलले गरे ।

‘रोल्पा–रुकुमलाई जनयुद्धको थलो भनिन्छ, प्रचण्डले जे चाह्यो त्यही हुने मानिन्छ तर अब रोल्पा–रुकुममा केपी ओलीको नेतृत्वमा विजयको झण्डा पहराउँछौं,’ उनले भने, ‘उहाँहरू जनताबाट डराएर चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ, उहाँहरू प्रथम अध्यक्षलाई आरोपित गर्दै हुनुहुन्छ ।’

एमाले विभाजनबाट लाभ लिन खोज्ने प्रचण्डलाई हिजोको जनयुद्धका कमाण्डरले नै छाडिरहेको उनले बताए । ‘अब परिवर्तन, विकास र समृद्धिको यात्रा कमरेड केपी ओलीको नेतृत्वमा अगाडि बढ्नेछ,’ उनले भने ।

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले जनयुद्धका उपलब्धी र जनमुक्ति सेनाको रक्षा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने बताए । उनले प्रचण्डको नेतृत्वमा रहेका नेताहरू सडकछाप भइसकेका बताए ।

‘अब जनमुक्ति सेनाको रक्षा केपी शर्मा ओलीले गर्नुहुन्छ, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा हुन्छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्