३१ जेठ २०८३, आइतबार

काठमाडौंमा खानेपानीको हाहाकार : माग ४३ करोड, आपूर्ति ८ करोड लिटर

फागुन १, २०७७
काठमाडौंमा खानेपानीको हाहाकार : माग ४३ करोड, आपूर्ति ८ करोड लिटर

संघीय राजधानी काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा ८ करोड लिटर मात्र भइरहेको छ ।

वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब ३ करोड लिटर खानेपानी चुहावट हुने गरेको शनिवार राजधानीमा आयोजित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १३ औं वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो ।

संविधानमा मौलिक हकका रूपमा उल्लेख गरिएको खानेपानी २४ सै घण्टा आपूर्ति हुनुपर्ने भए पनि स्रोतका कारण नसकिएको लिमिटेडका अधिकारीको स्वीकारोक्ति छ ।

वार्षिकोत्सव कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधानमा मौलिक हकका रुपमा स्थापित खानेपानी सेवालाई चुस्त रूपमा प्रवाह गर्न सरोकार भएका सबै निकाय लाग्नुपर्नेमा जोड दिए ।

‘पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देख्नुभएको मेलम्चीको सपना पूरा हुन लागेको छ, सपना देख्नेकै कार्यकालमा पूरा नभएपछि त्यसलाई अर्को पुस्ताले पूरा गर्नुपर्ने भएकाले अब हामी पूरा गर्ने चरणमा पुगेका छौं, डेढ दशकदेखि उपत्यकावासीले शुद्ध खानेपानी पाउन गरेको आशा पूरा गर्न लागिपरेका छौं,’ उनले भने । 
 
मेलम्चीको पानी आएपछि वितरणका लागि तयार हुन मन्त्री थापाले लिमिटेडका कर्मचारीलाई निर्देशन दिए । मेलम्चीको पानी राजधानीमा आएर उपभोक्ताको धारामा गएन भने आइपर्ने राजनीतिक, सामाजिक र प्राविधिक प्रभावलाई ध्यान दिन पनि उनले लिमिटेडलाई सचेत गराए ।
 
मेलम्ची राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले यसको सफलता र असफलतामा देशको सफलता वा असफलता पनि जोडिएकाले कमाउको धन्दा, राजनीतिक मुद्दा नबनाउन मन्त्री थापाले आह्वान गरे । मेलम्ची सम्पन्न भएपछि यसको सफलताका लागि लाग्ने सबै सम्मानका पात्र हुने उनको भनाइ थियो ।
 
मन्त्रालयका सचिव माधव बेल्वासेले अव्यवस्थित शहरीकरणका कारण खानेपानीको वितरण प्रणाली कताबाट कता जोडिएको छ भन्ने थाहा नहुने भएकाले चुहावटको समस्या समाधानमा कठिनाइ भएको बताए । उपत्यकामा ३०–४० प्रतिशत खानेपानी चुहावट भइरहेको उनले सुनाए । यसलै हाल लिमिटेडले ५ करोड लिटर पानीमाात्र बाँडिरहेको सचिव बेल्वासेले बताए ।
 
विक्रम संवत् २०७८ सालको अन्त्यसम्म मेलम्चीको पानी राजधानीमा वितरण गर्ने मन्त्रालयको प्रतिबद्धता छ । मेलम्ची आएपछि हिउँदमा पनि २५ करोड लिटर पानी वितरण गर्न सकिने मन्त्रालयले जनाएको छ । धारामा पानी नआएपनि ८० देखि ८५ प्रतिशत उपभोक्ताले मासिकरूपमा महसुल तिरिरहेका छन् ।
 
लिमिटेडका अध्यक्ष समेत रहेका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले केही दिनमा मेलम्चीको पानी सुरुङमा हालेर परीक्षण गरिने प्रतिबद्धता जनाए । मेलम्चीको पानी आएपछि लिमिटेडले पनि शाखवृद्धि हुने गरी काम गर्ने अवसर पाउने भएकाले त्यसको उपयोग गर्न पनि उनले आह्वान गरे ।
 
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले भूकम्पपछि सुकेको मातातीर्थ र मच्छेगाउँमा फेरि पानी आउन थालेकाले त्यसलाई व्यवस्थित गरेर पानीको परिणाम बढाउन सकिने बताए । अन्य नगरपालिकामा रहेका मुहान पनि व्यवस्थित गरेर परिणाम बढाउन उनले लिमिटेडको ध्यानाकर्षण गराए ।
 
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जनताको आधारभूत आवश्यकताका रुपमा रहेको खानेपानी नै पुर्‍याउन सकिएन भने विकासका ठूला कुरा गर्नुको अर्थ नभएकाले नगर सभ्यताको मापदण्डका आधारमा प्रत्येक घरका धारामा पानी खसाल्न लिमिटेड लाग्नुपर्ने बताए । पानी चुहावट भएर बन्ने खाडल ५ लाखभन्दा बढी खर्च लाग्ने अवस्था नभएसम्म नबन्ने गरेकाले ढिलासुस्ती अन्त्य गरी छिटो काम गर्नुपर्नेमा उनले जोड दिए ।
 
कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, आयोजना कार्यान्वयन निर्देशक कमलराज श्रेष्ठ, लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य लगायतले मेलम्चीको पानी राजधानी आउने चरणमा रहेकाले सबै निकायको सहकार्यमा चुस्तरूपमा उपभोक्ताको धारामा वितरण गर्न लाग्नुपर्नेमा जोड दिए ।
 
सो अवसरमा मन्त्री थापाले लिमिटेडका पूर्व कर्मचारी अमरकाजी राईले संकलन गरेको सन्देशमूलक भनाइका संग्रहको विमोचन समेत गरे । लिमिटेडमा सेवा गरी निवृत्त भएका कर्मचारीलाई सो अवसरमा सम्मान समेत गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्