११ असार २०८३, बिहीबार

अध्यक्ष प्रचण्ड भएको पार्टी नै आधिकारिक नेकपा हो : वर्षमान पुन

अध्यक्ष प्रचण्ड भएको पार्टी नै आधिकारिक नेकपा हो : वर्षमान पुन

नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेकपाले ३ वर्षसम्म कुनै असहयोग नगरेको प्रस्ट पारेका छन् ।

ओली सरकारमा झण्डै ३ वर्ष ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका पुनले बरु पार्टीले सहयोग पुर्‍याएको बताए ।

पार्टीका अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री मानेका व्यक्तिले संविधानमाथि घात गरेपछि बाध्य भएर आफूहरूले विरोध गर्नुपरेको उनको भनाइ थियो । ३ वर्षसम्म सरकारले संसदमा पेश गरेका नीति तथा कार्यक्रम र बजेट तथा सरकारका तर्फबाट पेश भएका धेरै विधेयक ससंदले पारित गरेको बताए ।

‘३ वर्षसम्म सबै नीति कार्यक्रम र बजेट पार्टीको समर्थनमा संसदमा उत्साहजनक रूपमा पास भए । त्यहाँ कुनै अवरोध भएन,’ धनकुटा सदरमुकाममा संसद विघटनविरुद्ध आयोजित सभालाई शनिवार सम्बोधन गर्दै पुनले भने, ‘पहिलो वर्ष झण्डै ११६ वटा विधेयकहरू संसदमा पेस भए । संविधानसँग सम्बन्धित अतिआवश्यक विधेयक थिए, ती सबै फटाफट पास भए । मैले एउटा मन्त्रीका हैसियतले झण्डै ३ वर्ष काम गर्दा देखेको छु, पार्टीले पूरै सहयोग गरेको छ ।’ 

प्रधानमन्त्री ओली स्वयंले कयौंपटक सार्वजनिक अभिव्यक्तिका क्रममा संसारमै छोटो समयमा धेरै कानून बनाउने मुलुक नेपाल भएको र आफ्नो कार्यकालमा जति छिटो विकास विश्वमै नभएको दाबी गर्दै हिँडेको चर्चा गर्दै पुनले अहिले संसद र पार्टीले काम गर्न दिएन भन्नुको तुक नरहेको बताए ।

‘केपी ओलीजीले सार्वजनिक रूपमा इतिहासमै धेरै सडक कालोपत्रे भयो । मेरो सरकार विश्वमै छोटो समयमा धेरै कानून बनाउने सरकारका रूपमा उभियो भनेर सरकारको प्रगति देखाउनुहुन्थ्यो,’ पुनले प्रश्न गर्नुभयो, ‘तर हामीले विश्वास गरेको त्यही प्रधानमन्त्री आज पार्टीले मलाई काम गर्न दिएन । संसदले काम गर्न दिएन र मैले विघटन गरें भनेर सार्वजनिक रूपले भन्दै हुनुहुन्छ, के यो इमान्दारिता हो ?’ 

पार्टीले राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना, सामाजिक न्यायको स्थापना, ५ वर्षमा गरीब मुलुकबाट मध्यम आय भएको मुलुकका रूपमा स्तरोन्नति, तीव्र औद्योगिकरणजस्ता चुनावी घोषणापत्रमा जनताबीच गरिएका प्रतिबद्धताअनुसार काम भए/नभएकोबारे भने पटक–पटक घच्घच्याएको पुनले बताए ।

प्रधानमन्त्री ओलीले पार्टीको नीति, निर्देशनमा जनतासँग गरिएका प्रतिबद्धताअनुसार नभई स्वेच्छाचारी र व्यक्तिवादी ढंगले काम गरेको आरोप पुनले लगाए । पुनले नेपाली जनताले ७० वर्षसम्म लडेर ल्याएको संविधान, जनअधिकार र व्यवस्थामाथि नै ओलीले हमला गरेकाले त्यसलाई बचाउने अभियानमा आफूहरू आन्दोलनमार्फत जनअदालतमा उभिएको बताए । असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाबाहेक अरु कुनै बाटोबाट लोकतन्त्र बहाली र संविधानको रक्षा नहुने उनको स्पष्टोक्ति थियो ।

आफूहरूको आन्दोलन केही नेताको पद र कुर्सीका लागि नभई ओलीको निरंकुशता र असंवैधानिक कदमविरुद्ध भएको पुनले स्पष्ट गरे । निर्वाचन घोषणा गरिसकेपछि ७७ वटै जिल्लामा आफ्ना गुटका कार्यकर्ताको भर्ती गर्न भूमि आयोगको गठन र संसदीय सुनुवाई विनै विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्तिले ओलीले थप असंवैधानिक कदम चाल्दै जाने स्पष्ट गरेको पुनको भनाइ छ ।

फरक प्रसंगमा पुनले १५ वर्षसम्म एमालेको नेतृत्व गरेका माधव नेपाल र जनयुद्ध, शान्ति प्रक्रिया हुँदै नेकपाको अध्यक्ष बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको पार्टी नै आधिकारिक नेकपा भएको दाबी उनले गरे ।

salt training

कमेन्ट गर्नुहोस्