सन्दर्भ : प्रणय दिवस

यसरी मनाउने कि 'भ्यालेन्टाइन डे'

यसरी मनाउने कि 'भ्यालेन्टाइन डे'

भ्यालेन्टाइन डे केही वर्षअघि हाम्रो देशमा धेरथोर मानिसलाई मात्र थाहा थियो । हाम्रो समाजमा एउटा यस्तो वर्ग छ त्यस वर्गले भ्यालेन्टाइन डे पर्खेर बसेको हुन्छ । उपभोक्तावाद र बजारवाद युगमा प्रेम र यसको अभिव्यक्ति बजारवादको शिकार भएको छ। हाम्रो समाजमा साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, शिवरात्रि र अरू थुप्रै चाड पर्वभन्दा क्रिसमस, भ्यालेन्टाइन, हालोइन प्यारो लाग्न थालेको छ ।


Advertisement

बजारमा कन्डम किन्दा, चुम्बन गर्दा लाज मान्ने हाम्रो समाज कुनै बेला कामसूत्रको भूमि भनेर चिनिन्थ्यो। मन्दिरका टुँडालहरूमा, प्रवेशद्वारमाथि सबैले देख्नेगरी बनाइएका यौन आकृतिहरूले नै प्रस्ट पार्छ हाम्रो समाज प्रेम र यौनमा कति अगाडि रहेछ भनेर। 


Advertisement

कामदेव सौन्दर्यका प्रतीक हुन् भने रति आनन्द, प्रसन्नताकी प्रतीक हुन् । उनलाई कामुकताका लागि चिनिनुका साथै प्रेम र आकर्षणकी देवी भनेर मान्ने गरिन्छ । संस्कृत शब्द काम-देवको अर्थ 'दिव्य प्रेम' वा 'प्रेमका देवता' हो।

देव शब्दको अर्थ ईश्वरीय वा स्वर्गीय हो; काम शब्दको शाब्दिक अर्थ इच्छा, अभिलाषा वा चाहना हो, विशेष गरी शारीरिक प्रेम वा यौन सम्बन्धमा।


Advertisement

विष्णु पुराण र भागवत् पुराणमा (5.16.15) विष्णुको अर्को नाम कामदेव हो। यो शब्द कहिलेकाहीँ शिवको नामका रूपमा प्रयोग भएको छ। कामदेव संस्कृत पाठ 'प्रयाशित पदयात्रा'का लेखक पनि हुन्। अर्कातिर, कृष्णको अर्को नाम कामदेव हो; कहिलेकाहीँ यो शब्द कृष्णको शीर्षकको रूपमा पनि प्रयोग भएको छ। आगाको अर्को नाम काम हो। यो नाम ऋग्वेद ( ऋग्वेद 9, 113.11) मा पनि प्रयोग भएको छ।

कामदेवलाई एक सुन्दर युवाको रूपमा कल्पना गरिएको छ। उनका हातमा धनु छ। उनको धनु उखुबाट बनेको छ र त्यस धनुको गुणस्तर माहुरीले बनेको छ। उनका वाण पाँच प्रकारका सुवासित फूलले बनेका छन् । यी पाँच प्रकारका फूलहरू हुन्: अशोक, सेतो र निलो कमल, मल्लिका र अम्रामञ्जरी। 

हाम्रो धार्मिक साहित्यको संहिता शैलीमा रचना गरिएका केही यस्ता रचनाहरू छन् जहाँ रति र कामदेवका संवादमा अहिलेको आधुनिक समाजका प्रेमीप्रेमिका बीच हुने आत्मीय कुराकानीको प्रस्ट आभाष हुन्छ।

पुराना हाम्रा ग्रन्थ र मन्दिरका टुँडालहरूमा भएका चित्रले समागमका निर्देशनहरू र G -spot, मुख मैथुन र यौन संगतता जस्ता अवधारणाहरू दर्शाएको छ जसलाई हामी आधुनिक मान्छौँ। यसले हाम्रो समाज यौनका विषयमा स्वतन्त्र थियो भनेर देखाउँछ।  

हिन्दू शास्त्रहरूमा कामदेवलाई प्रेमका देवता भनिन्छ । स्त्री–पुरुषका बीचमा आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले उनको पूजा वसन्त पञ्चमीका दिन गर्ने गरिन्छ ।

त्यसैले यदि हिन्दू परम्परालाई मान्ने हो भने प्रेम दिवस वसन्त पञ्चमीका दिन मनाउनुपर्ने हो । हिन्दू धर्ममा प्रेमका देवता कामदेव हुन् । उनलाई प्रेम, सौन्दर्य र कल्याणका देवता मानिन्छ । विशेषगरी प्रेम प्राप्तिका लागि उनको आराधना गरिन्छ । रति (संस्कृत: रति) प्रेम, शारीरिक इच्छा, अभिलाषा, उत्कटता, र यौन खुसीकी हिन्दू देवी हो।

पश्चिमा संस्कृतिमा प्रेममा खसेको (fall in love) राम्रो मानिन्छ। खस्न सदैव सजिलो हुन्छ। तपाईँ कुनै खाडलमा खस्न सक्नुहुन्छ। खसेपछि बाहिर निस्किन गाह्रो हुन्छ। त्यसैले हाम्रो संस्कृतिमा प्रेममा खस्ने होइन; प्रेममा माथि उठ्नुपर्छ भन्ने मान्यता छ। भ्यालेन्टाइन डे र वसन्त पञ्चमी दुवै आशाका प्रतीक हुन्, शरद ऋतुको प्रकृति पनि आशाको प्रतीक हो।

प्रेम र प्रकृति सुख र दु:ख दुवै अवस्थामा भगवानको स्पर्श हो र त्यसैले महर्षि बाल्मीकिको कलमले रामायणमा वसन्तको सुन्दर चित्र रङ्गियो, कुनै कवि वा लेखकको कलम प्रेम र वसन्तमा नलेखी रहन सकेन।

हाम्रो संस्कृतिले वसन्तलाई बनाउने मानवको प्रशंसा गर्दछ, जसलाई सन्तका चिन्छ । वसन्त ॠतुको समयमा फूलहरूमा बहार आउँछ, जौ र गहुँका बालीहरू लहलहाउँछन् । आँप आदिका रुखमा नयाँ पालुवा पलाउँछ । पुष्पबाट सुगन्ध फैलिन्छ र चारैतिर रङ्गी-बिरङ्गी पुतलीहरू उड्न थाल्छन् । कोकिल कुहुकुहु गर्दछन् । यस्तो समयलाई रोमान्टिक समय नभने कुन समयलाई भन्ने ?

भाषा संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ, राष्ट्र हराए हाम्रो पहिचान रहन्न । हामी विश्वव्यापी नागरिक हौं, चाडपर्वको व्यवसायीकरणले उनीहरूको वास्तविक महत्त्व बिस्तारै गुम्दै गएको छ । विश्वव्यापीकरणका राम्रा र नराम्रा दुवै पक्ष छन्। त्यसैले हामीहरूले विश्व स्तरमा सोच्नुपर्छ र स्थानीय स्तरमा काम गर्नु पर्छ। यसो भए मात्र मात्र हामीले केही नगुमाई धरै प्राप्त गर्न सकिनेछ। 

प्रेम भनेको बलियो स्नेह अनि भावना हो । भिजेकालाई न्यानो दिनु, पीडितलाई दया गर्नु, अरूको चोटमा मलम लाउनु नै प्रेम हो । आफ्नो खुसीका लागि पैसा खर्च गर्नेभन्दा अरूको खुसीका लागि पैसा खर्च गर्ने मानिसहरू बढी खुसी हुन्छन्। सेवा नै धर्म र प्रेम हो। आखिर यो संसार माया ,प्रेम, सेवा, सद्भाव र सहकार्यले नै चलेको छ।

भनिन्छ- धनभन्दा मन ठूलो हो। यो भ्यालेन्टाइन डेमा उपहारभन्दा महंगो मन साटौँ, खुसी आदान प्रदान गरौँ । हुन त भ्यालेन्टाइन डे हाम्रो संस्कृति होइन तर अरूको संस्कृति भन्दैमा राम्रो कुरा मनाउन हुँदैन भन्ने होइन । "ॐ कामदेवाय विद्महे, रति प्रियायै धीमही, तन्नो अनङ्ग प्रचोदयात् ।"

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्