
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम छ । लामो समययता सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ओली पुगेका छैनन् ।
उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षितरूपमा पुनःनिर्माण गरिएको बताए ।