२४ जेठ २०८३, आइतबार

आयोगले अब जनतालाई भन्नुपर्‍यो– ६ महिनामै चुनाव गराउँछौं : देउवा

आयोगले अब जनतालाई भन्नुपर्‍यो– ६ महिनामै चुनाव गराउँछौं : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्रमा चुनाव भइसक्नुपर्ने बताएका छन् । 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपनि निर्वाचन आयोगले भने चुनावको तयारी रोक्न नमिल्ने उनले बताए । 

नेपाली कांग्रेसले रुपन्देहीमा सोमवार आयोजना गरेको सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधि सभा पुनःस्थापना नभए जेठ अन्तिमसम्ममा चुनाव गरिसक्नुपर्ने बताएका हुन् । 

‘संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गर्नुपर्छ, जेठको अन्तिमसम्ममा गर्नुपर्छ । निर्वाचन आयोगलाई यहीँबाट भन्न चाहन्छु, ओलीले संसद् विघटन गरेको ६ महिनामा चुनाव गराउनै पर्छ । निर्वाचन आयोगले किन गर्छु भन्दैन ? आयोगमाथि शंका गर्नुपर्ने बेला भएको छ,’ देउवाले भने ।

सभापति देउवाले अदालतमा विचाराधीन मुद्दामा यसो गर, उसो गर भनेर भन्न नमिल्ने बताए । ‘अदालतको निर्णय पर्खौँ, निर्णय हुन दिऊँ, त्यसपछि हामी निर्णय गरौंला । अदालतले निष्पक्ष न्याय दिन्छ भन्ने विश्वास गरौं,’ उनले भने । 

सभापति देउवाले निर्वाचन गर्न तयार छौं भनेर आयोगले जनतालाई आश्वस्त तुल्याउनुपर्ने बताए ।

‘आयोगले जनतालाई भन्नुपर्‍यो, ६ महिनाभित्र चुनाव गराउँछौ भनेर विश्वास दिलाउनुपर्‍यो । जुन बेलापनि चुनाव हुनसक्छ भनेर तयारी गर्नुपर्छ । अदालतले संसद् पुनःस्थापना गरिदियो भने रोकौंला के बिग्रन्छ ?’ देउवाले भने । 

देउवाले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । 

salt training

कमेन्ट गर्नुहोस्