
बुटवल उपमहानगरपालिकाको ६२ औं स्थापना दिवस सोमवार मनाइएको छ ।
स्थापना दिवसका अवसरमा कार्यालय परिसरमा आयोजित मूल समारोहको शुभारम्भ गर्दै प्रमुख शिवराज सुवेदीले नयाँ व्यवस्था र प्रणालीमा शून्यबाट काम गरेर पनि हेर्ने र देख्ने गरी विकास गरिएको बताए ।
बुटवलमा क्रियाशील राजनीतिक पार्टीहरूले चुनावी घोषणा पत्रमा उल्लेख गरेका योजनालाई सम्बोधन गर्ने गरी बुटवल उपमहानगरपालिकाले आवधिक र दीर्घकालीन महत्त्वका योजना सहितको गुरुयोजना निर्माण गरिएको प्रमुख सुवेदीले बताए । बुटवल महानगरीय अवधारणाका साथ अगाडि बढेको छ ।
सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको संकल्प साकार पार्ने र बुटवललाई अवसरको शहरका रूपमा विकास गरिने प्रमुख सुवेदीले बताए ।
महानगरीय अवधारणाका साथ बृहत् बुटवल स्थापना गर्ने गरी विभिन्न खालका योजना छनोट गर्दै तिनलाई तीनै तहका सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिक अगुवाको सहकार्यमा साकार पारिने प्रमुख सुवेदीले बताए ।
‘साना योजनाहरू बुटवल उपमहानगर आफैंले, मझौला योजनाहरू प्रदेश सरकार र ठूला योजनाहरू सम्पन्न गर्नका लागि संघीय सरकारसँग तथा कतिपय व्यावसायिक प्रबद्र्धनका योजनामा निजी क्षेत्रसँग सहकार्य गरेर काम गरिने छ,’ प्रमुख सुवेदीले भने ।
भूमिहीनलाई जमिनको मालिक बनाउने, खरका छाना मुक्त बुटवल बनाइने, घरबास विपन्न दलितलाई घरबासको व्यवस्था मिलाइने, युवालाई इलम सिकाइने, इलम अनुसारको कामको प्रबन्ध मिलाइने र अवसरहरू सिर्जना गरेर तिनलाई विस्तार गरिने संकल्पलाई साकार पार्ने काममा केन्द्रित रहेको छ ।
बुटवल उपमहानगरपालिकाले हिलपार्कमा बुद्ध पहिचान पार्क, जितगढीमा बटौली युद्ध संग्रहालय, जितगढी सम्पदाको सम्बद्र्धन र विस्तार, मोतिपुरमा थारु सांस्कृतिक संग्रालय, नयाँगाउँमा ढुवानीग्राम, नरेनापुर धाममा भ्यू टावर, बैठौलिया तालमा व्यवस्थित नौकाविहार र थारु होमस्टे तथा बुटवल रामनगरमा आधुनिक पशु बधशाला जस्ता महत्त्वपूर्ण आयोजना निर्माणका काम शुरू गरेको छ ।
यी कामका साथै आन्तरिक बाइपास सडकको विस्तार र स्तरोन्नति, बुटवल चक्रपथ निर्माण, मिलन पार्क बहुउद्देश्यीय केन्द्र र खेल मैदान निर्माणका कामलाई अगाडि बढाएको छ । नगर गौरवका आयोजनाका अतिरिक्त प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा दीर्घकालीन महत्त्वका योजना बुटवलमा सञ्चालित छन् ।
निजी क्षेत्र, सामाजिक संघसंस्था तथा समाजसेवीका सहयोग एवं सहकार्यमा नै बुटवलमा महामारी नियन्त्रणको काम प्रभावकारी भएको बताउँदै उपप्रमुख गुमादेवी आचार्यले योगदानको कदर गर्दै सबैलाई क्रमशः सम्मान गरिने जानकारी दिइन् ।