०९ असार २०८३, मंगलबार

राजधानीको ट्राफिक व्यवस्थापन चुस्त पार्न ३०० स्वयंसेवक परिचालन

फागुन ४, २०७७
राजधानीको ट्राफिक व्यवस्थापन चुस्त पार्न ३०० स्वयंसेवक परिचालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानी काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।

महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३०० ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण गरी काठमाडौंका विभिन्न चोक, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले स्वयंसेवकलाई उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ ।

काठमाडौं उपत्यकाको सवारी चाप हुने तथा बढी भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदल यात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्न र नियम पालना गर्न सन्देश प्रवाह गर्ने उनले जानकारी दिए ।

स्वयंसेवक परिचालनबाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा जनमानसले राहत महसूस गर्ने र आम सडक प्रयोगकर्तालाई सहजता मिल्नेमा विश्वस्त रहेको भट्टराईले बताए ।

उपत्यकामा बर्सेनि सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदल यात्रुको दुर्घटनामा परी ज्यान जाने गरेको छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी लापरवाही तरिकाले सडक पार गर्ने र जथाभावी हिँडडुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने प्रहरीले जनाएको छ ।

यसअघि महाशाखाले नेपाल स्काउट, युवा विद्यार्थीहरुलाई समेत प्रशिक्षण दिई विभिन्न चरणमा ट्राफिक स्वयंसेवक परिचालन गरेको थियो । त्यसको प्रभावकारितासँगै यसलाई निरन्तरता दिइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्