
अस्ट्रेलियाका जनताले फेसबूकमा समाचार पाउन छोडेका छन् ।
बुधवार फेसबूकले एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियामा सर्वसाधारण र प्रकाशकहरूले स्थानीय तथा अन्तर्राष्ट्रिय आउटलेटको समाचार शेयर गर्न र हेर्न नपाउने जनाएको छ ।
अस्ट्रेलियाले प्रविधि कम्पनीहरूलाई सामग्री उपयोग गरिएकोमा प्रकाशकलाई पैसा तिर्नुपर्ने विधेयक तयार पारेपछि फेसबूकको यस्तो प्रतिक्रिया आएको हो ।
‘प्रस्तावित कानूनले हाम्रो प्ल्याटफर्म र प्रकाशकहरूबीचको आधारभूत सम्बन्धको पहिचान गर्न सकेको छैन,’ फेसबूकको विश्वव्यापी समाचार साझेदारीका उपाध्यक्ष क्याम्पबेल ब्राउनले बताए ।
‘केही मानिसले संकेत गरेविपरीत फेसबूकले समाचार सामग्री चोर्दैन । प्रकाशकहरूले फेसबूकमा आफ्ना सामग्री शेयर गर्ने हुन् ।’
अस्ट्रेलियाको सिनेटमा जनवरी महिनामा भएको सुनुवाइमा फेसबूकले यो विधेयक कानून बनेमा सामग्री ब्लक गरिने बताएको थियो ।
गूगलले पनि त्यही सुनुवाइमा कानून बनेमा देशमै आफ्नो सर्च इन्जिन बन्द गरिदिने धम्की दिएको थियो ।
तर फेसबूकको बुधवारको घोषणापछि गूगलले जोरी नखोजेर अस्ट्रेलियामै रही प्रकाशकहरूसँग सम्बन्ध गहिरो बनाउन खोजेको छ ।
गूगल र न्युज कोर्प नामक संस्थाले तीन वर्षको सम्झौता गरेका छन् । यसअन्तर्गत न्यु कोर्पको सामग्री राख्नका लागि गूगलले पैसा तिर्नेछ ।
फेसबूकको निर्णयलाई अस्ट्रेलियाका ट्रेजरर जोश फ्राइडनबर्गले आलोचना गरेका छन् । त्यस्तो कदमबाट अस्ट्रेलियाको ख्यातिमा क्षति पुग्ने उनको भनाइ छ ।