
अस्ट्रेलियन ओपन टेनिसको सेमीफाइनलमा नाओमी ओसाकासँग हारेपछि सेरेना विलियम्स रोएकी छन् ।
ओसाकाले विलियम्सलाई ६–३ ६–४ को सोझो सेटमा हराएकी थिइन् । हारपछि उनी रड लेभर एरिनामा केही बेर अल्मलिइन् र आफ्नो छातीमा हात राखिन् । पछि मिडियासँग कुराकानी गर्ने क्रममा उनी भावुक बनिन् ।
उनलाई खेलका दौरान अनफोर्स्ड एरर गरेको विषयमा प्रश्न सोध्दा उनले जवाफ दिइन्– ‘मलाई थाहा छैन, भयो पुग्यो ।’ त्यसपछि उनी भावनामा नियन्त्रण गर्न नसकेर कोठाबाट बाहिरिइन् ।
त्यसको केही समयअघि उनलाई मेलबोर्न पार्कलाई अलबिदा गरेको हो भनी सोधिएको थियो । यस हारसँगै उनले मार्गरेट कोर्टको २४ ग्रान्डस्लाम उपाधिको बराबरी गर्ने मौका गुमाइन् ।
‘मैले अलबिदा भनें भने कसैलाई पनि बताउने छैन,’ उनले जवाफ फर्काइन् ।
उनले प्रमुख उपाधि नजितेको चार वर्ष भइसकेको छ र उनले खेलबाट संन्यास लिने विचार गरिरहेको बताइँदैछ ।